Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

बाँसका सामग्रीबाट आयआर्जन गर्न महिलालाई तालिम


२७ ,भाद्र ,खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० महिला भेला हुन्छन् । बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने कोही विभिन्न सामग्री बुनिरहेका हुन्छन् ।

बाम्राङस्थित वडा कार्यालयमा भेला हुने महिलाले छोटो समयमै बाँसका चोयाबाट घरायसी काममा प्रयोग हुने रहरलाग्दा विभिन्न सामग्री बनाइरहेका छन् ।

गाउँमा बेरोजगार रहेका महिलालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा महिला उद्यमी सङ्घले बाँसका सामग्री निर्माणसम्बन्धी एकमहिने तालिमको आयोजना गरेको हो ।

यही भदौ १० गतेदेखि सुरु भएको बाँसका सामग्री निर्माणसम्बन्धी तालिममा सहभागी महिलालाई बाँसका चोयाबाट पेनकेस, र्याक, फूलदानी, डुङ्गाबास्केट र डस्बिन बुन्ने सीप सिकाउने गरिएको छ ।

तालिममा सहभागी महिला आफै बाँस ढाल्छन् र सोही बाँस फुटाएर आफै चोया काढ्ने गर्छन् । बाँसका चोयाबाट बन्ने घरायसी सामग्री निर्माण गर्न १५ दिन सिकेकी स्थानीय प्रेलिना राई अहिले आफैँ सहप्रशिक्षक बनेकी छन् ।

केन्द्रबाट आएकी शर्मिला लामाले १५ दिन प्रशिक्षण दिएर गएपछि अहिले प्रेलिनाले सिकाउँदै छिन् ।

तालिममा सहभागीमध्ये उत्कृष्ट बनेर सामग्री बुन्दै अरुलाई पनि सिकाउँदै आफू पनि सिक्दै आएकी प्रेलिना यही पेसाबाट जीविकोपार्जन गर्न सकिने बताउछिन् ।

“पुरुषले गर्दै आएको बाँसका सामग्री निर्माण गर्ने काम गरेर व्यावसायिक बन्ने योजना छ”, उनले भनिन्, “गाउँघरमा प्रायः पुरुषले गरिरहेका यस्ता काम महिलाबाट पनि सम्भव हुन्छ भन्ने यसअघिसम्म लाग्दैन थियो । तर अहिले सिक्दै जाँदा सम्भव हुनेरहेछ भन्ने लागेको छ । गाउँमा बाँस टन्न पाइन्छ, तालिमपश्चात यही व्यवसाय गर्ने सोच बनाएकी छु ।”

तालिममा सहभागी ३० महिलामध्ये २५ जना बाम्राङका छन् भने चारजना वडा नं १ दिक्तेल र एकजना दिप्रुङ चुइचुम्मा गाउँपालिकाका छन् ।

तालिममा सहभागी अधिकांश महिलाले तालिमपश्चात आ–आफ्नो गाउँ फर्किएर यही पेसालाई निरन्तरता दिने बताएका छन् ।

गाउँमा बेरोजगार रहेका महिलालाई बाँसका सामग्री बनाएर आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको महिला उद्यमी सङ्घकी कोषाध्यक्ष सञ्जु खत्री (बस्नेत)ले बताईन् ।

“सामग्रीको बजारीकरण सङ्घले गर्ने योजना बनाएका छौँ”, उनले भनिन्, “१५ जना उत्कृष्ट छानेर माद्रो, नाङ्लो, डालोलगायत सामग्री बुन्न सिकाउने तयारी छ । तालिममा सभागी महिलालाई खाना, खाजा तथा यातायात खर्चवापत रु १५ हजारका दरले भत्तासमेत उपलब्ध गराइएको छ ।”

दिक्तेल बजारस्थित रत्नपार्कमा सञ्चालित सपिङ कम्प्लेक्समा कोसेली घर खोल्ने तयारी छ । यसका लागि नगरपालिकासँग सम्झौता भइसकेको छ । यसअघि महिला उद्यमी सङ्घले महिलालाई अचार बनाउने र खोसेलाबाट सजावटका सामग्री निर्माणसम्बन्धी तालिम दिएको थियो ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?