Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अस्पतालमा देखिएका बेथितिलाई सुधार गर्दै अघि बढ्छौँ : स्वास्थ्यमन्त्री बस्नेत


२६ भदाै, चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल व्यवस्थापनमा देखिएको बेथिति रोक्दै अघि बढ्ने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अस्पतालहरूको बेथिति सुधार गर्ने कुरामा आफूले कसैसँग पनि सम्झौता नगर्ने बताए ।

उनले भने, “अस्पतालको सुधारका लागि कसैसँग पनि झुक्दिनँ र कसैको कुरा मान्दिनँ । राम्रो काम गर्नुपर्छ ।” जनताको सेवाका लागि खोलिएका अस्पताल बेथितिबाट चल्न नहुने उहाँको भनाइ थियो । अस्पतालमा अहिले पनि २२ वर्षअघिको कर्मचारी दरबन्दी रहेको भन्दै उनले जनताको सेवाका लागि दरबन्दी थप गरिने बताए ।

अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा चार जना चिकित्सक र चार जना नर्सले हेर्नुपर्ने बिरामी एक जनाले हेर्नुपर्ने बाध्यता रहेको जनाउँदै उनले सरकारले अस्पतालमा दरबन्दी थप गर्ने तयारी गरेको बताए । उनले भने, “२२ वर्षअघि ३३ हजार कर्मचारी रहेकामा अहिले ३१ हजार छन् । यसले अस्पताल सञ्चालन र व्यवस्थापनमा समस्या हुन्छ । हामी दरबन्दी थप गर्ने तयारीमा छौँ ।” दरबन्दी थप गर्ने विषयमा अर्थ मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले परिपत्र गरिसकेको बताउँदै उनले थपे, “अहिले आवश्यकताको एक चौथाइ कर्मचारीमात्रै छन् । यसलाई थप गर्दै जान्छौँ ।” अस्पतालहरूमा आवश्यक उपकरण र भौतिक संरचनाका लागि बजेट अभाव भएमा दातृ निकायको सम्मेलन गराएर भए पनि काम गर्ने उनको भनाइ थियो ।

आफू अहिले निःशुल्क स्वास्थ्योपचारको अभियानमा रहेको बताउँदै उनले पैसाको अभावमा उपचार नपाएर कुनै बिरामी मर्न नहुने बताए। फरक प्रसङ्गमा बोल्दै उनले भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न आफू सकारात्मक रहेको बताए । शिक्षण अस्पतालको रूपमा विकास गर्दैगर्दा भौतिक संरचना निर्माण हुन जरुरी रहेकाले यसतर्फ आफूहरू स्रोत जुटाउन लागिपरेको उनको भनाइ थियो ।

पत्रकारसँगको कुराकानीमा उनले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा सरकार रहेको बताए । चिकित्सा शिक्षा ऐन संशोधन हुन नसक्दा चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी उत्पादन हुन नसकेको बताउँदै उनले यही अवस्था रहे नेपालमा पाँच वर्षपछि नर्स र चिकित्सक पाउनसमेत कठिन हुने बताए ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?