Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

माछाका भुरामा गण्डकी छैन आत्मनिर्भर


२५ भदाै, गण्डकी । ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ ।

नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत पोखराको बेगनासमा रहेको सो केन्द्रमा मात्र माछाको ह्याचरी छ ।

‘प्रदेशमा अन्यत्र माछाको स्रोत केन्द्र विस्तार हुन सकेन, निजी क्षेत्रबाट पनि ह्याचरीमा अहिलेसम्म लगानी भएको छैन’, केन्द्रका प्रमुख मोहम्मद इकवाल हुसेनले भने, ‘झण्डै ४५ प्रतिशत माछाका भुरा बाहिरैबाट आउँछ ।’

किसानले चितवन, रुपन्देहीलगायत जिल्लाबाट भुरा ल्याएर माछा पालन गर्दै आएका छन् । केन्द्रले वार्षिक जम्मा २५ लाख ‘ह्याचलिङ’ र २५ लाख ‘फ्राई’ आकारका भुरा उत्पादन गर्दै आएको छ । अन्यत्र ह्याचरी नहुँदा अनुसन्धानको काममा लाग्नुपर्ने सो केन्द्र भुराको उत्पादन र बिक्रीमा पनि खट्नुपरेको हो ।

केन्द्रले सरकारी दररेटमा किसानलाई विभिन्न जातका माछाका भुरा उपलब्ध गराउँदै आएको छ । केन्द्रका सूचना अधिकारी वेचनप्रसाद यादवले कमन कार्फ, ग्रास कार्फ, सिल्भर कार्फ, बिग हेडलगायत जातका माछाको भुरा उत्पादन हुँदै आएको बताए ।

किसानलाई सहर, गर्दीलगायत स्थानीय जातका माछाका भुरा पनि केन्द्रले उपलब्ध गराउँदै आएको छ । ‘माछा पालन विस्तार भइरहेको छ, प्रदेशमा एउटा मात्र ह्याचरी हुँदा भुराको माग धान्न सकिएको छैन’, सूचना अधिकारी यादवले भने, ‘यसमा प्रदेश सरकारको पनि ध्यान जानु जरुरी छ ।’

उक्त अनुसन्धान केन्द्र सङ्घ सरकार मातहत सञ्चालित छ । प्रदेश सरकारले स्याङ्जाको मिर्मिमा स्थापना गरेको मत्स्य विकास केन्द्र नाम मात्रैको भएको यादवले उल्लेख गरे ।

‘कार्यालय मात्र खोलेर हुँदैन, पूर्वाधार र जनशक्ति पनि सोहीअनुसार चाहिन्छ’, उनले भने, ‘पोखराकै स्तरमा थप ह्याचरी सञ्चालन गर्न सके गण्डकी प्रदेशलाई माछाका भुरामा आत्मनिर्भर बनाउन सकिन्छ ।’

मत्स्य विकास केन्द्रको स्वामित्वमा मत्स्य फार्म तथा ह्याचरी सञ्चालनका लागि पहल थालिएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

प्रदेश विकास समाधान समितिको बैठकमा पनि यो विषयलाई प्राथमिकता साथ उठाएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले बताए ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?