Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२३ कार्तिक २०८३, सोमबार
२३ कार्तिक २०८३, सोमबार

स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनुस् : प्रधानसेनापति शर्मा


२४ भदौ, काठमाडाैँ । प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाई स्थिर वातावरण खल्बल्याउने कुनै पनि स्वार्थप्रेरित समूहको  क्षणिक र दूरगामीविहीन प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन  सेनालाई निर्देशन दिएका छन् ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएका अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उनले भने, “नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।”

सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र जनविश्वासका लागि सकलदर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यवाद ज्ञापन गर्दै उहाँले सैन्य सङ्गठन आजको भोलि तयार गर्न सकिने विषय नभएको बताए ।

प्रधानसेनापति शर्माले भने, “लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सवल र सुदृढ हुँदै जाने सङ्गठित र अनुशासित सङ्गठन नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीअनुसार सदैव चलिरहन्छ ।”

उनले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षाका साथै आगामी कार्यदिशा बारेमा जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधानसेनापति शर्माले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा माल्यार्पण गरे । उनले कर्तव्यपालनाको सिलसिलामा घाइते भएका सकलदर्जाको योगदानको उच्च मूल्याङ्कन गर्दै उपचारका क्रममा रहेको सबैको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै सकलदर्जालाई संस्थागत हितमा केन्द्रित रहन प्रेरणा मिलोस् भनी कामना गरे ।

प्रधान सेनापति शर्माले आजै जङ्गीअड्डामा आयोजित एक कार्यक्रमा उपरथीमा पदोन्नति भएका कुमारबाबु थापा र महासेनानीमा पदोन्नति हुनुभएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दज्र्यानी चिन्ह प्रदान गरे ।

सो अवसरमा उनले सैनिक कल्याणकारी निर्देशनालयको प्रकाशन ‘कल्याणकारी दर्पण’, नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको प्रकाशन ‘केटिएफटी जर्नल’को तेस्रो भाग र सेनाको वर्षभरिका प्रमुख गतिविधिको तस्वीर समेटिएको  पुस्तक पनि विमोचन गरे ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?