Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

मोरक्को भूकम्प अपडेट : दुई हजारभन्दा बढीको मृत्यु, तीन दिन राष्ट्रिय शोक


२४ भदाै, एजेन्सी । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ ।

शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार १२ जनाको मृत्यु भएको तथा दुई हजार ५९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये एक हजार चार सय जनाको अवस्था गम्भीर छ । भैैचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको अल–हौज प्रान्तमा सबैभन्दा बढी एक हजार दुई सय ९३ जनाको मृत्यु भएको छ भने ४५२ को साथमा ताराउदान्ट प्रान्तमा चार सय ५२ जनाले ज्यान गुमाएका छन् । मौले ब्राहिम गाउँमा कलिला केटाकेटीका शव देखेर भक्कानिएका ७० वर्षका बौचारा उद्धारकर्मीले घर नजिकै ५० जनाको शव गाडेको बताएका छन् ।

निरन्तरको पराकम्पले भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । उनीहरूले दुई रात घरबाहिर सडमा बिताएका छन् । अहिले पनि अधिकांश मानिस घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । सार्वजनिक स्थान, चौरस्ता एवं डबलीमा उनीहरूले आश्रय लिएका छन् ।

पहाडी क्षेत्रमा भएको क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन । भूकम्पबाट अति प्रभावित दुर्गम पहाडी गाउँमा पुग्न सेना र आपतकालीन सेवाका अधिकारी खटिएका छन् । उद्धार टोलीहरू आवासीय भवनलाई भूकम्पले भग्नावशेषमा परिणत गरेका स्थानमा कोही जीवित भेटिन्छन् कि भन्ने आशमा दौडिएका छन् । उद्धारकर्मी र टोलीको सङ्ख्या बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

“मैले सबै गुमाएँ,”श्रीमती र चार छोराछोरी गुमाएका मौले ब्राहिमको पहाडी गाउँका बासिन्दा लाहसेन बर्बरी आसुँ झार्दै भन्छन् । उद्धारकर्मीहरूले लाहसेनका तीन छोरीको शव घरको भग्नावशेषबाट निकालेका छन् तर अहिलेसम्म उनकी श्रीमती र छोराको शव फेला परेको छैन । “म अब केही गर्न सक्दिन, म संसारबाट टाढा जान चाहन्छु,” विलाप गर्दै उनको मुखबाट अवर्णनीय पीडा अभिव्यक्त हुन्छ ।

भूकम्प प्रभावित एउटा गाउँको एक स्थानमा भग्नावशेष पन्छाउँदा १८ जनाको शव निकालिएपछि एक जना ज्येष्ठ महिला नागरिकले डाको छोडेर रोयको दृश्यले उद्धारकर्मी तथा सञ्चारकर्मीलाई पनि भावुक बनाएको थियो । केन्द्रविन्दुभन्दा करिब ५० किलोमिटर पर अवस्थित ताफेघते गाउँमा केही भवनमात्र ठडिएका छन्भने अधिकांश ध्वस्त भएका छन् । बहत्तर वर्षीय ओमर बेन्हाना आफ्ना तीन जना नातिनातिनी र बुहारी एकै चिहान भएको बताउँछन् । शनिबार नै उक्त गाउँका स्थानीयले ७० जनाको शव व्यवस्थापन गरेका थिए ।

तीन दिन राष्ट्रिय शोक

मोरक्कोका राजा मोहम्मद छैटौँले तीनदिने राष्ट्रिय शोक घोषणा गर्दै पीडित परिवारलाई खाना आवासको व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ भने उद्धार टोलीहरूलाई सघाउन देशको राष्ट्रिय सेनालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय शोकको यो घडीमा सार्वजनिक स्थल र सरकारी भवनहरूमा फहराईएका राष्ट्रिय झण्डा आधा झुकाइने सरकारी समाचार समितिले जनाएको छ ।

यसअघि सन् १९६० को भूकम्पमा परी मोरक्कोमा १५ हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट अगादिर तहसनहस भएको थियो ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?