Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

प्रचारको पखाईमा ‘देउपुजे ढुङ्गा’


२२ भदाै, स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका–३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुङ्गा’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीले प्रचुर सम्भावना रहँदारहँदै पनि प्रचारप्रसार नहुँदा यसको महत्व ओझेलमा परेको हो ।

देउपुजे ढुङ्गालाई शिवलिङ्गको स्वरुप मानी शत्बीज छर्ने गरिएको छ । यहाँ शत्बीज छर्नाले पितृमुक्त, पितृ उद्धार तथा भाकल पूरा हुने जनविश्वास रहिआएको देउपुजे ढुङ्गा पूजा समितिका सदस्य राजकुमार श्रेष्ठले बताए।

यस स्थानमा वर्षा भएन भने स्थानीय मिलेर बाजागाजासहित ढुङ्गाको माथिबाट सबैले गाग्रीमा पानी लगी तल बाजाको भोटेसोला भन्ने तालमा नाच्नेलाई पानी खन्याएर पानी माग्न सुरु गर्ने चलन रहेको उनले बताए ।

“परापूर्वकालमा यस ढुङ्गाको एउटा भागमा गाईको जस्तै थुन रहेको र त्यसबाट दूध आउने गथ्र्यो”, श्रेष्ठले भने, “रजश्वला भएकी महिलाले भोकाएको आफ्नो बच्चालाई दूध खुवाउन उक्त थुन छोएपछि दूध आउनै बन्द भएको भन्ने किंवदन्ती रहेको छ ।” यस ठाउँमा हिन्दू धर्मावलम्बीले देवी र शिवलिङ्गका रुपमा तथा बौद्धमार्गीले आफ्नै विधिअनुसार पूजा आरधना गर्दै आएका छन् ।

धार्मिक महत्वसँगै यो ठाउँ पर्यटकीय दृष्टीले पनि प्रचुर सम्भावना बोकेकाले यहाँ पूर्वाधार निर्माण थालिएको वडाध्यक्ष केशबहादुर खड्काले बताए । “यस ठाउँलाई धार्मिक दृष्टिले शक्तिको केन्द्रकारुपमा मानेर पूजाआजा हुने गरेको छ”, उनले भने “धार्मिक महत्व सँगसँगै यहाँ अध्ययन, अवलोकन तथा वनभोज खानका लागि पनि मानिस आउन थालेका छन् ।”

अग्लो स्थानमा भिरालो खालको चौरमा बालमैत्री पार्क निर्माणाधीन अवस्थामा रहेको वडाध्यक्ष खड्काले बताए। उनका अनुसार यहाँ आउने पर्यटकलाई लक्षित गरी प्रतिक्षालय, कुर्सी, सिँढी निर्माण, खानेपानीको व्यवस्थापन गरिएको छ । वडा कार्यालयबाट थप संरचना निर्माणका लागि चालू आर्थिक वर्षका लागि रू तीन लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

पालिकाभित्र विभिन्न ठाउँमा रहेका धार्मिक, पौराणिक, ऐतिहासिक, पर्यटकीय संरचनालाई संरक्षण गर्ने र प्रचारप्रसार गर्दै नगरपालिका अगाडि बढेको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । “नगरभित्र रहेका हाम्रा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पौराणिक महत्व बोकेका स्थलका बारेमा जानकारी दिनका लागि स्थानीय पाठ्यक्रममा समावेश गरेका छौँ”, उनले भने “स्थानीय पाठ्यक्रमको प्रभावकै कारण पनि पालिका भित्रका विभिन्न ठाउँमा अहिले अध्ययन अवलोकन गर्न जानेको सङ्ख्या बढ्दै गएको छ ।”

भिरकोटको मुख्य बजार बयरघारीदेखि १० किलोमिटर उकालो ग्रामीण कच्ची सडक पार गरेपछि यस ठाउँमा पुग्न सकिन्छ । समुद्रसतहदेखि एक हजार पाँच सय फिटको उचाइमा यो ठाउँ रहेको छ । अग्लो ठाउँमा भएकाले पनि यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला मनमोहक देखिन्छन् ।

स्याङ्जासहित छिमेकी जिल्लाका विभिन्न ठाउँ यहाँबाट देखिने भएकाले पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्नसक्ने देखिएको वडाध्यक्ष खड्काले बताए । उनका अनुसार उक्त ढुङ्गाको गोलाई करिब २५ मिटर र उचाइ करिब १५ मिटर छ ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?