Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, रथयात्राको तयारी


२१ भदाै, काठमाडाैँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले भाद्रकृष्ण अष्टमीको मध्यरातमा पूजा आराधना गर्ने भक्तजन पनि धेरै हुन्छन् ।

यस रात भजनकीर्तन गरेर वर्तालु रातभर जाग्राम बस्छन् । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ । बुधबार रातभर जाग्राम बसेका भक्तजनले आज भने श्रीकृष्णको जन्म भएको खुसीयालीमा रथयात्रा निकाल्छन् ।

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन)को कार्यालय परिसरबाट आज विशेष रथयात्रा निकालिने जनाइएको छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घ संस्थाले पनि आज श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने तयारी गरेको जनाइएको छ ।

यसैगरी गोकर्णेश्वर–८ मा रहेको श्रीकृष्ण मन्दिर क्षेत्रबाट पनि आज रथयात्रा निकाल्ने तयारी भएको वडाअध्यक्ष नन्दलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ ।

छोटकरीमा गीता नामलेसमेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

धर्म स्थापनाका लागि युगयुगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । पापका पक्षमा लाग्नेको संहार गरी सज्जनका रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिएको खुसीयालीमा भाद्र कृष्ण नवमीका दिन देशभरका कृष्ण मन्दिरमा रथयात्रा एवं शोभायात्रा निकाल्ने गरिएको हो ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?