Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

कैकु–खन्ती खण्ड कालोपत्र भएपछि यात्राअवधि छोटियो


२१ ,भाद्र ,म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलादेखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको छ ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो ।

योजना प्रमुख जगत प्रजापतिले सडक कालोपत्र भएपछि एक घन्टा ३० मिनेटको यात्रा अवधि आधा घन्टामा छोटिएको जानकारी दिए । “कैकुखोला–खन्ती सडक कालोपत्र भएपछि एक घन्टा यात्रा अवधि छोटिएको छ”, उनले भने, “मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई सहज भएको छ ।”

एघार मिटर फराकिलो बनाइएको उक्त सडकमा नाली, पर्खाल निर्माण र ग्राभेलपछि सातदेखि आठ मिटरको चौडाइका दरले कालोपत्र गरिएको छ । उकालो सडकमा ढलान गरिएको छ ।

भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राखिएको छ । सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको र आवतजावत सहज भएको स्थानीयवासीले बताएका छन् ।

मालढुङ्गादेखि कोरला नाकाको दुई सय दुई किलोमिटर दूरीको सडक विस्तार गर्न सञ्चालित १२ प्याकेजमध्ये कैकु–खन्ती खण्ड पूर्णरुपमा कालोपत्र गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजमा पर्ने सो सडक कालोपत्र गर्न २०७४ जेठमा शर्मा–गजुरमुखीसँग ठेक्का सम्झौता भएको थियो ।

कैकु–खन्तीसहित बेनी–जोमसोम खण्डको चार प्याकेज (भाग) मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७४ मा सुरु भएको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा निर्माण कार्य जारी छ ।

हालसम्म मुस्ताङको सात खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७५ प्रतिशत छ । यस्तै एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये छ खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेको योजना प्रमुख जगत प्रजापतिले बताए ।

आठ पक्की पुल र तीन बेलिब्रिज निर्माण गरिएको छ । थप एउटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । बाह्र मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?