Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कैकु–खन्ती खण्ड कालोपत्र भएपछि यात्राअवधि छोटियो


२१ ,भाद्र ,म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलादेखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको छ ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो ।

योजना प्रमुख जगत प्रजापतिले सडक कालोपत्र भएपछि एक घन्टा ३० मिनेटको यात्रा अवधि आधा घन्टामा छोटिएको जानकारी दिए । “कैकुखोला–खन्ती सडक कालोपत्र भएपछि एक घन्टा यात्रा अवधि छोटिएको छ”, उनले भने, “मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई सहज भएको छ ।”

एघार मिटर फराकिलो बनाइएको उक्त सडकमा नाली, पर्खाल निर्माण र ग्राभेलपछि सातदेखि आठ मिटरको चौडाइका दरले कालोपत्र गरिएको छ । उकालो सडकमा ढलान गरिएको छ ।

भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राखिएको छ । सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको र आवतजावत सहज भएको स्थानीयवासीले बताएका छन् ।

मालढुङ्गादेखि कोरला नाकाको दुई सय दुई किलोमिटर दूरीको सडक विस्तार गर्न सञ्चालित १२ प्याकेजमध्ये कैकु–खन्ती खण्ड पूर्णरुपमा कालोपत्र गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजमा पर्ने सो सडक कालोपत्र गर्न २०७४ जेठमा शर्मा–गजुरमुखीसँग ठेक्का सम्झौता भएको थियो ।

कैकु–खन्तीसहित बेनी–जोमसोम खण्डको चार प्याकेज (भाग) मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७४ मा सुरु भएको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा निर्माण कार्य जारी छ ।

हालसम्म मुस्ताङको सात खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७५ प्रतिशत छ । यस्तै एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये छ खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेको योजना प्रमुख जगत प्रजापतिले बताए ।

आठ पक्की पुल र तीन बेलिब्रिज निर्माण गरिएको छ । थप एउटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । बाह्र मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?