Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउछौँ : उपप्रधानमन्त्री श्रेष्ठ


२० भदाै, चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउने बताएका छन् ।

सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई आज माडीमा सम्बोधन गर्दै उनले यस अभियानमा सम्झौता नगरी अगाडि बढ्ने बताए।

“यो मेरो मात्रै नभइ सरकारको पनि सङ्कल्प हो । यस अभियानलाई विश्राम लिने छैनौँ”, मन्त्री श्रेष्ठले भने। यस अभियानलाई देशका सबै बुद्धिजीवी, नागरिक समाजले साथ दिइरहेको भन्दै उनले सबैप्रति आभार व्यक्त गरे। भ्रष्टाचार विरोधी कतिपय कदम चाल्दा अप्ठ्याराले आफूहरुलाई समस्या पारेको भन्दै उनले भने, “हाम्रो मिसन र ध्ययमा हामी सम्झौता गर्ने छैनौंँ ।”

‘सरकार तथा गृहमन्त्री दृढताका साथ टिक्छन् त ?’ भन्ने चिन्ता र चासो आम जनसमुदायमा रहेको आफूले अनुभूति गरेको भन्दै मन्त्री श्रेष्ठले यस बीचमा भएका कतिपय घटनाक्रमले जनसमुदायमा चासो बढाउनु स्वभाविक भए पनि सरकार भ्रष्टाचार विरोधी अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, “यो सरकार भ्रष्टाचार, तस्करी, कालोबजारी, दण्डहिनता, ठगीको विरुद्धमा उभिएको छ । यस अभियानलाई निरन्तरता दिनेछौँ ।”

सरकारी जग्गा, सुन तस्करी र शरणार्थी प्रकरणका अपराधी तथा तस्करलाई कानुनको कठघरामा उभ्याएरै छोड्ने गृहमन्त्री श्रेष्ठले दृढता व्यक्त गरे। यी काम सजिलो नभएको भन्दै उनले भने, “सजिलो बाटो होइन भनेर तै चुप मै चुप भएर यथास्थितिकै सामु लम्पसार पर्ने काम यो सरकार र गृहमन्त्रीबाट हुनसक्दैन ।” उनले भ्रष्टाचार विरोधी अभियान अझ प्रभावकारी बनाउने जनाउँदै यस्तै अन्य घटनाको खोेजी गरी छानबिन गर्ने बताए।

देशमा ठूलो राजनीतिक परिवर्तन भएको भन्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनलाई परिवर्तनमा मात्रै सीमित नबनाएर यसलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्ने चाहना रहेको बताए। उनले भने, “क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा होस् वा नेपालमा लोकतन्त्र स्थापना गर्ने सन्दर्भमा होस् सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेलेका छन् ।”

नेपालको जुन राजनीतिक परिवर्तन भए पनि त्यसका पछाडिका उपलब्धिलाई रक्षा गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । “परिवर्तनलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्न, विकास र समृद्धिको प्रक्रिया अगाडि बढाउन, जनताको जीवन फेर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ”, उनले भने। रेडियो माडीले यस क्षेत्रमा पुर्‍याएको योगदानको गृहमन्त्री श्रेष्ठले प्रशंसा गरे।

कार्यक्रममा रेडियो र यसले आम नागरिकलाई पुर्‍याएको योगदानको बारेमा संस्थाका अध्यक्ष ओमनाथ पाण्डेले प्रकाश पारेका थिए। सो अवसरमा माडी नगरपालिका प्रमुख तारकुमारी काजी महतो, नेपाली कांग्रेस चितवनका सभापति शोभाखर चापागाइँ, नेकपा माओवादीका केन्द्रीय सदस्य सन्देश पौडेललगायतले रेडियोलाई शुभकामना दिँदै माडी क्षेत्रका समस्याका बारेमा उपप्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

आज माडी पुगेका उपप्रधानमन्त्री श्रेष्ठ बिहीबार बिहान मात्रै फर्किने कार्यक्रम छ ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?