Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

बागलुङमा भदौरे नाचको रौनक


२० भदौ, बागलुङ । बागलुङ बजारमा अहिले भदौरे नाचको रौनकता छाएको छ । यहाँको पुरानो नाचमध्येका विभिन्न नाचहरु दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र अहिले गुञ्जायमान भइरहेको छ । लोपोन्मुख अवस्थामा रहेका नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षित गर्दै आएका छन् ।

विसं १८४३ अघि नै बागलुङमा व्यापारको सिलसिलामा नेवार समुदाय आएर बसोबास गरेको लिखित दस्तावेजका आधारमा उक्त नाच नेवार समुदायअन्तर्गत पर्ने स्थानीय काजी गाउँले श्रेष्ठले बताए । उनले उक्त नाच दुई सय ३७ वर्ष पुरानो हुनसक्ने बताए ।

श्रेष्ठले बागलुङमा भदौरे नाचअन्तर्गत पर्ने अन्य केही नाचहरु भने खर्चिला भएकाले देखाउन छोडिएको बताउँदै अहिले थेतर, कटुवाल, रोपाइँ, जोगी, घोडा, होवालगायतका नाचहरु प्रदर्शन भइरहेको जानकारी दिए । “शिखारी र नाग नागिनी नाच बढी खर्चिलो भएकाले देखाउन छोडिएको छ, अन्य केही भदौरे नाचहरु संरक्षित छन्”, उनले भने, “नेवार जातिका कला संस्कृतिअन्तर्गतका धेरै नाचहरु आर्थिक हिसाबले खर्चिला छन् । जुन बचाउनै गाह्रो छ ।”

अहिले भदौरे नाचको अवसरमा देखाइएका नाचका कारण बजार क्षेत्रमा रौनकता छाएको जनाउँदै श्रेष्ठले नेवार जातिको पुरानो हनुमान नाच खर्च अभावका कारण पाँच वर्षमा एक मात्र देखाइने गरिएको जानकारी दिए । पछिल्लो समय युवाहरुले चासो देखिएका कारण लोप हुन थालेका कतिपय नाच पुन देखाउन थालिएको उनको भनाइ थियो ।

नेवार समुदायले अहिले देखाइरहेका भदौरे नाचहरु अन्य जातजातिलेसमेत रोचक मानेर हेर्ने गरेका छन् । यस नाचलाई बर्खे नाच पनि भन्ने गरिएको स्थानीयवासी मञ्जुल शाक्यले बताए । भदौरे नाच हेर्दा रमाइलो लागे पनि निकै खर्चिलो हुने गरेको भन्दै यसको संरक्षणमा थप चुनौती थपिएको उनले बताए ।

यहाँ लोप हुन लागेका नाच संरक्षणका लागि शाक्य समाजले लामो समयदेखि सक्रियता देखाउँदै आएको शाक्यले बताए । उनले पछिल्लो समयमा भदौरेअन्तर्गतका नाचहरु संरक्षणमा युवाहरुले समेत चासो देखाउन थालेकाले केही सहज भएको बताए । उनका अनुसार पछिल्लो समय नेवा ल्याम्ह पुचःले समेत नाच संरक्षणमा तदारुकता देखाएको छ ।

“नेवारभित्र पनि विभिन्न कला तथा संस्कृति फरकफरक पाइन्छन् । लामो समयदेखि बागलुङमा शाक्य कल्याण समाजले जोगी, रोपाइँ र लाखे नाच संरक्षण गर्दै आएको छ”, शाक्यले भने, “सबै नेवार समुदायले भदौरे नाचलाई पनि संरक्षण गर्नुपर्छ भनेर एकजुट भएका छन् ।”

उनका अनुसार गाईजात्राको दिन निकै खर्चिलो मानिएको बास्सा नाच सामूहिक रुपमा देखाइएको थियो । परिवारका सदस्य मृत्यु भएको वर्षमा बास्सा नाच देखाउने भए पनि आर्थिक हैसियत हुनेले मात्रै उक्त नाच देखाउने गरेका शाक्यको भनाइ थियो ।

भदौरे नाचअन्तर्गत लाखे नपर्ने भए पनि बर्खे वरपरमा लाखे नाच प्रदर्शन भइरहेको अगुवा नेवार समुदायले बताउँदै आएका छन् । बागलुङको नेवार समुदायले संरक्षण गर्दै आएको हनुमान नाच भने नेपालमा नै लोप हुन थालेको छ ।

घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाचहरु प्रदर्शन भइरहने शाक्य कल्याण समाजले जनाएको छ । मध्य भदौमा बागलुङका सडक, चोक र बस्ती संस्कृतिमय बनेका छन् । पुस्तान्तरणको अभावमा मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ देखिने उत्साह र सहभागिताले भने संस्कृति संरक्षणमा नयाँ पुस्ताको चासो देखिएको पाइन्छ ।

एक महिनासम्म बर्खेनाचअन्तर्गत विभिन्न नाच देखाउने समय र कलाकार व्यवस्थापनमा चुनौती रहे पनि त्यसलाई सबैको साथ र सहयोगबाट सम्भव हुँदै आएको नेपाल भाषाः मङ्काः खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।

भदौरे नाच बागलुङ बजारको इतिहाससँग जोडिएको उनको भनाइ थियो । बागलुङ बजार स्थापनासँगै भदौरे नाच देखाउन थालिएकाले यो यस क्षेत्रको इतिहाससँग जोडिएकाले पनि संरक्षण गर्नुपर्ने भन्दै अध्यक्ष राजभण्डारीले यसका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?