Trending
>>   उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास >>   प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवाः चीन हाम्रो मित्र राष्ट्र हो >>   आसन्न चीन भ्रमणबारे सरोकारवालाहरुसँग छलफलमा प्रधानमन्त्री >>   सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली >>   एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी >>   महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन >>   एनपिएलको ट्रफी अनावरण (फोटो फिचर) >>   रोमानियाको राष्ट्रपति चुनावमा वर्तमान प्रधानमन्त्रीको नेतृत्व >>   कोप २९ विश्वव्यापी जलवायु सम्झौता प्याकेजमा पुग्यो >>   प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग आसन्न चीन भ्रमणबारे छलफल गर्दै
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

कागबेनी बस्ती पुुनर्निर्माण सरकारको प्राथमिकतामा छ : गृहमन्त्री श्रेष्ठ


१९ भदौ, म्याग्दी । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।

गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले भने–  “ऐतिहासिक पर्यटकीय तीर्थस्थल कागबेनीको बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्वका साथ अघि बढाउँछ ।” सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण गरिने गृहमन्त्री श्रेष्ठले बताए ।

कालीगण्डकी नदीको बगरमा थुप्रिएको नदीजन्य वस्तुका कारण उत्पन्न जोखिम तथा क्षति न्यूनीकरण गर्दै बस्तीलाई सुरक्षित बनाउने विषयमा ढङ्गले छलफल गरिने उनले बताए । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने गृहमन्त्री श्रेष्ठले बताए ।

“कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले गम्भीरताका साथ पहल गर्नेछ,” उनले भने, “बेनी–जोमसोम–कोरला सडकमा बाह्रैमास यातायात सञ्चालनको व्यवस्था मिलाउन लागिपरेका छौँ ।” क्षतिग्रस्त सडक, पुुल, खानेपानी, विद्युत् र सिँचाइ आयोजना पुनर्निर्माणको काम तत्काल अघि बढाइने उनको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले बाढीले क्षति गरेको कागबेनीको बस्तीको निरीक्षणका साथै स्थानीय तह, प्रशासन र सुरक्षा निकायका अधिकारीसित छलफल गर्नुभएको थियो । कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ ।

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति पुगेको तथ्याङ्क छ । स्थानीयका ५० घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ । बाढीबाट २९ घरमा पूर्ण क्षति तथा १५ घरमा आंशिक क्षति पुगेको थियो भने बाढीले बगाउँदा २४ पशुचौपाया मरेका थिए ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?