Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए


१९ भदौ, पोखरा । पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । बसपार्क अगाडिको सडकमा हुँदै आएको पार्किङ निषेध गरेर गत महिनादेखि बसपार्कभित्रबाटै बस छुट्ने व्यवस्था सुरु गरेको महानगरले अहिले बसर्पाकभित्रका अव्यवस्थित मोटर पार्टस् र ग्यारेज बन्द गराएको हो ।

मोटर पार्ट्स र ग्यारेजलाई यसअघि नै स्थानान्तरणका लागि समय दिइएको थियो । हाल बसपार्क व्यवस्थापनको काम तीव्रगतिमा भइरहेकाले बसपार्ककै जग्गामा सञ्चालित ती मोटर पार्टस् र ग्यारेज बन्द गरिएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक एवं वडा नं १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताए ।

पर्यटकीय सहर पोखरामा विसं २०३२ मा सुविधासम्पन्न र व्यवस्थित बसपार्क निर्माणका लागि जमिन छुट्याइए पनि हालसम्म पूर्वाधार बन्न सकेको छैन । पछिल्लो समय बसपार्कभित्रको जमिन समथर बनाउने, खाल्डाखुल्डी पुर्ने पुराना र थोत्रा सवारीसाधन हटाएर सहज बनाइएको तिमिल्सिनाले बताए ।

उनले भने, “महानगरपालिका पोखरा बसर्पाकको व्यवस्थित सञ्चालनका लागि प्रतिबद्ध छ, अहिले सडकबाट छुट्ने सबै गाडीलाई बसपार्कभित्रबाटै छुट्ने/छुटाउने अनिवार्य व्यवस्था लागू गरिएको छ । अहिले बसपार्कको आन्तरिक व्यवस्थापनको काम गरिरहेका छौँ, सोहीअनुरूप बसपार्ककै जग्गा रहेका मोटर पार्टस् र ग्यारेज बन्द गरेका हौँ ।”

बसपार्क व्यवस्थापनमा स्थानीय व्यवसायीले सकारात्मक सहयोग गरिरहेको संयोजक शर्माले बताए । उनका अनुसार बसपार्कभित्र रहेका कवाडी सङ्कलन केन्द्रलाई यही भदौ २२ गतेभित्र स्थानान्तरण गर्न निर्देशन दिइएको छ ।

पृथ्वीचोक बसपार्कलाई थप व्यवस्थित बनाउनका लागि रेलिङ निर्माण गरिएका छन् भने नाला निर्माण सम्पन्न गरी ढलान गर्ने तयारी गरिएको समितिका सदस्य एवं वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । बसपार्कको बीच भागमा रहेको टिकट काउन्टर हटाइएको छ भने केही टहरासमेत स्थानान्तरण गरिएका छन् ।

यस कार्यमा पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्थापन समिति, यातायात व्यवसायी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय जनप्रतिनिधि निरन्तर लागिरहेका छन् । बसपार्क क्षेत्रमा भइरहेको अतिक्रमणलाई हटाई व्यवस्थित बसपार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् ।

उनका अनुसार त्यस क्षेत्रमा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको पहिलो चरणको काम सम्पन्न भइसकेको छ भने अब दोस्रो चरणमा तिनीहरूको व्यवस्थापनको काम सुरु हुनेछ । त्यसपश्चात् बसपार्कमा थप पूर्वाधार निर्माणका काम गरिनेछन् ।

आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा दुई सय पाँच रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो । तर अहिलेसम्म बसपार्कका पूर्वाधार बन्न नसक्दा बसपार्क वरिपरिको क्षेत्र कुरुप बनेको छ । बसपार्क बनाउन छुट्याइएको जमिन बर्सेनि अतिक्रमणमा परेको छ । बसपार्कभित्र पूर्वाधार नबन्दा लामो तथा बजार क्षेत्रभित्र चल्ने सबै बस बसपार्क अगाडिको सडकबाट गन्तव्यका लागि छुट्ने गरेका थिए । पछिल्लो समय भने बसपार्कभित्रैबाट छुट्ने नियम बनाइएको छ ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?