Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सामूहिक र करार खेतीलाई सरकारको प्रोत्साहन


१९ भदाै, काठमाडौं । सरकारले खाद्यान्न र दुधजन्य पदार्थमा आत्मनिर्भर हुन सिँचाइ, सामूहिक खेती, पशुस्वास्थ्य र हरियो घाँस विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

बाँझो जमिन उपभोग कार्यक्रममार्फत सिँचाइ संयन्त्र निर्माण गरी उत्पादनमा वृद्धि एवं सामूहिक र करार खेतीलाई समेत प्रोत्साहन गर्ने नीति सरकारले अघि सारेको हो ।

कृषि उत्पादन बढाएर आत्मनिर्भर हुने सबैभन्दा महत्त्वपूर्ण पक्ष रासायनिक मल र सिँचाइका लागि तीन तहकै सरकारसँगको सहयोग र समन्वयमा मलको व्यवस्थापन र सिँचाइ प्रवर्धनका कार्यक्रम अघि बढाउने कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले बताए ।

बाँझो जमिनमा सिँचाइ उपलब्ध गराएर चैते धान हाल एक लाख १८ हजार हेक्टरमा लगाइएकामा त्यसलाई दोब्बर पुर्‍याई धानमा आत्मनिर्भरका लागि भगिरथ प्रयत्न गर्ने मन्त्रालयले संकल्प लिएको छ । मुलुक धानमा आत्मनिर्भर नभएका कारण वार्षिक ३० अर्बभन्दा बढीको चामल आयत भइरहेको छ ।

आगामी दिनमा चैते धान उत्पादन वृद्धिका लागि सरकारले कृषकलाई प्रोत्साहनसहित प्रवर्धन अभियान सञ्चालन गर्ने योजना बनाएको छ । नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधारमात्र नभई धानलाई आर्थिक, सामाजिक, सांस्कृति र धार्मिकलगायतको महत्व बोकेको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ ।

आधुनिक प्रविधिको प्रयोग र व्यावसायिकीकरणका माध्यमद्वारा धानको उत्पादन वृद्धि गर्न पर्याप्त मलखाद्य र सिँचाइका साथै अनुसन्धान र विकासका कार्यक्रमलाई पनि जोड दिइने नीति अघि सारिएको छ । नेपालमा वार्षिक सदरदर धान उत्पादन ५४ लाख ८६ मेट्रिक टन उत्पादन हुने गरेको छ ।

नेपालीको खानाको ६७ प्रतिशत हिस्सा ओगट्ने धान आवश्यकताभन्दा १२ लाख ८० हजार मेट्रिक टन कम उत्पादन छ । कृषकलाई राहत र कर्णालीलगायतका दुर्गम क्षेत्रका उपभोक्ताको हितका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र कृषि सहकारीमार्फत सरकारले ठूलो परिमाणमा खलोबाटै धान खरिद गर्दै आएको छ ।

खाद्यान्नमा मुलुकलाई आत्मनिर्भर तुल्याउन सरकारले रासायनिक मलको समयमै व्यवस्थापन कार्यलाई पहिलो प्राथमिकतामा राखेको छ । गत आर्थिक वर्ष ३१ अर्ब २० करोड ३७ लाख ८४ हजार बराबरको रासायनिक मल आयात गरेकाले तुलनात्मक रूपमा किसानले यस वर्ष मल सहज रूपमा पाएको अनुभूति गरेको मन्त्रालयको दाबी छ ।

सरकारले कृषि पशुपक्षी विकास उद्यमशीलता कार्यक्रम तथा हरित विद्यालय र पोषण शिक्षा कार्यक्रमलाई पनि अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले इलाम, सुनसरी, रौतहट, सर्लाही, काभ्रे, नुवाकोट, तनहुँ, पर्वत, अर्घाखाँची, कपिलवस्तु, दैलेख, कालीकोट, कैलाली र बैतडीका एक सय ६१ पालिकामा पशु स्वास्थ्य आधारभूत प्रयोगशाला स्थापना कार्यक्रम यस वर्ष ल्याइएका नयाँ कार्यक्रम हुन् ।

उन्नत जातका धेरै उत्पादन हुने मकै, गहुँ, कोदोजस्ता बालीका लागि किसानलाई प्रोत्साहन गर्दै हरियो घाँस विस्तार, रैथाने बाली र चौरी प्रवर्द्धन, कृषि एम्बुलेन्स वितरण र स–साना शीतभण्डार (कोल्डस्टोर) निर्माण कार्यक्रमलाई पनि मन्त्रालयले प्रभावकारीरूपमा अघि बढाएको छ ।

कृषिलाई दिने अनुदानलाई उत्पादनमा आधारित बनाउन ‘उत्पादन साथमा नगद हातमा’ भन्ने नीति अवलम्बन गरिएको छ । विश्व बैंकको सहयोगमा ४० पालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्र निर्माण सुरु गरिएको जानकारी दिइयो ।

दुधजन्य पदार्थमा आत्मनिर्भरका लागि छिमेकी मुलुकबाट गिर र साहिवाल नामक उच्च नश्लका गाईका साँढे र चौँरी तथा मासुका लागि च्याङ्ग्रा विड ल्याउन मन्त्रालयले पहल गरिरहेको छ । सरकारले दक्षिण कोरिया सरकारको प्राविधिक सहायताअन्तर्गत एक सय कोरली गाई र २० वटा प्रजनन साँढे प्राप्त गरी वितरण गरेको छ ।

दुध होलिडे मनाउन नदिन धुलो दुधको आयात गर्न नदिइएको तथा उखु कृषकलाई उत्पादनका आधारमा अनुदान दिने प्रक्रिया सुरु गरिएको जानकारी दिइयो । विगतमा विभिन्न कारण स्थगन भएको बाली तथा पशु बीमा सुरु भएको मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?