Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

गण्डकी प्रदेश : १८ विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम


१९ भदौ, पोखरा । गण्डकी प्रदेशमा गत वर्षदेखि कार्यान्वयनमा आएको ‘विद्यालय नर्स’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार ११ जिल्लाका १८ विद्यालयमा यो कार्यक्रम सञ्चालित छ ।

विद्यालय तहमै प्राथमिक स्वास्थ्य सेवा, सरसफाइ, पोषण, महिनावारी तथा प्रजनन स्वास्थ्यजस्ता सेवाको पहुँच पुर्याई विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गरिएको हो । मन्त्रालयका सचिव डा विनोदबिन्दु शर्माले बालबालिकाको आनीबानी र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सो कार्यक्रमबाट टेवा पुगेको बताए ।

“छोटो समयमै विद्यालय नर्स कार्यक्रम प्रभावकारी देखिएको छ, यसबाट स्वास्थ्य शिक्षा प्रवर्द्धनमा समेत मद्दत पुगेको छ”, उनले भने, “बालबालिकाले व्यवहार परिवर्तन र स्वास्थ्यको आधारभूत ज्ञान विद्यालयबाटै पाएका छन् ।”

थप विद्यालयमा कार्यक्रम विस्तारका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाइएको सचिव डा शर्माले बताए । “सरकारको नीति, बजेट तथा कार्यक्रमले पनि यसलाई समेटेको छ, एकैसाथ धेरै विद्यालयमा लागू गर्न स्रोतले भ्याउने अवस्था नभए पनि कार्यक्रम विस्तार गर्नुपर्नेमा हाम्रो जोड छ”, उनले भने ।

विद्यार्थी सङ्ख्या धेरै भएको विद्यालय छनोट गरेर कार्यक्रम सञ्चालन गर्ने गरिएको मन्त्रालयका फार्मेसी अधिकृत साजन बरालले बताउनुभयो । उनका अनुसार मुस्ताङको जनआदर्श, मनाङको प्रकाश ज्योति, म्याग्दीको जनप्रिय, पर्वतको पशुपति, बागलुङको नेपाल मावि र जनजागृति माविमा ‘विद्यालय नर्स’ कार्यक्रम सञ्चालनमा छ ।

यस्तै स्याङ्जाको पूर्णामृत भवानी, त्रि–सहिद नमूना, कास्कीको सहिद स्मृति आवासीय, भारती भवन, तनहुँको रामशाह, श्रीङ्ग, लमजुङको बागेश्वरी, इशानेश्वर, गोरखाको जीवनज्योति, चतुरमाला, नवलपुरको भानुदय नमूना र भीमसेन आदर्श माविमा सो कार्यक्रम सञ्चालित छ ।

मुस्ताङ, मनाङ, म्याग्दी र पर्वतका एक–एक विद्यालय र अन्य जिल्लाका दुई–दुईवटा विद्यालयमा कार्यक्रम लागू गरिएको अधिकृत बरालले उल्लेख गरे । “गत वर्ष माघदेखि कार्यक्रम सञ्चालनमा आएको हो, यो वर्ष पनि प्रदेशका ११ वटै जिल्लामा कार्यक्रमले निरन्तरता पाएको छ”, उनले भने ।

‘विद्यालय नर्स’ कार्यक्रमका लागि मन्त्रालयले गत आवमा रु ५० लाख बजेट विनियोजन गरेकामा यो वर्ष रु एक करोड बजेट छुट्याएको छ । बागलुङको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माविका प्रधानाध्यापक उमानाथ अधिकारीले विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणदेखि स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन भइरहेको बताए ।

“विशेषगरी किशोरीलाई यो कार्यक्रम बढी लाभदायी देखिएको छ, महिनावारीदेखि प्रजनन स्वास्थ्यबारे सचेतना बढेको छ, विद्यार्थीलाई सामान्य चोटपटक लाग्दा र बिरामी हुँदा प्राथमिक स्वास्थ्योपचार पनि विद्यालयमै हुन्छ”, उनले भने, “नर्समात्रै मन्त्रालयले खटाएको छ, अरु व्यवस्थापन विद्यालयले नै गर्छ, गाउँपालिकाले पनि औषधि दिएर सहयोग गरिरहेको छ ।”

नर्सिङ सेवाका लागि विद्यालयले छुट्टै कोठाको व्यवस्था गरेको प्रअ अधिकारीको भनाइ छ । मन्त्रालयले पाँचौँ तहका स्टाफ नर्सलाई छ महिनाको करार सम्झौता गरी विद्यालयमा खटाएको हो । मन्त्रालयले तलब पनि सिधैँ उनीहरुको खातामा पठाउने गरेको छ । नेपाल माविमा सेवारत स्टाफ नर्स जीवना शर्माले स्वस्थ जीवनयापनका लागि अपनाउनुपर्ने आनीबानी र व्यवहारबारे विद्यार्थीलाई सिकाउने गरेको बताए ।

“अरु विषयको कक्षा खाली हुँदा पनि स्वास्थ्य सुरक्षा र हेरचाहबारे विद्यार्थीलाई जानकारी दिने गरेका छौँ, व्यक्तिगत सरसफाइ, पोषण सुधार, प्रजनन स्वास्थ्यजस्ता विषयमा विद्यार्थी सचेत हुन थालेका छन्”, उनले भने, “किशोरीहरूलाई महिनावारी सरसफाइ तथा व्यवस्थापनबारेमा अभिमुखीकरण पनि गर्छौँ ।”

प्राथमिक उपचारसम्म विद्यालयमा गरे पनि एन्टिबायोटिक औषधि चलाउनुपर्ने अवस्थाका विद्यार्थीलाई भने स्वास्थ्य संस्थामा पठाउने गरिएको स्टाफ नर्स शर्माले बताए । “हामीले सुइँ लगाउन, एन्टिबायोटिक औषधि दिन मिल्दैन, विद्यार्थीमा कुनै त्यस्तो लक्षण देखिएका नजिकको स्वास्थ्य संस्थामा पठाउँछौँ ।”


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?