Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

काभ्रेमा ‘हावा’मा आलुको बीउ उत्पादन


१७ भदाै, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’मा आलुको बीउ उत्पादन थालेको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बीउ उत्पादन थालिएको हो ।

उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बीउ उत्पादन गर्दै आएको थियो । “यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ । यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेसिनबाट नै पठाइन्छ”, उद्योगका सञ्चालक शशि अधिकारीले भने । उनका अनुसार ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बीउ बन्दछन् ।

एक बिरुवामा ५० देखि चार सयसम्म बीउ उत्पादन हुने अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त प्रकृतिको बीउ उत्पादन गर्न उद्योगमा रु एक करोडमा छुट्टै प्रयोगशाला निर्माण गरिएको छ । नयाँ प्रविधि भएकाले अन्य जातका आलुको तुलनामा उत्पादनको परिमाणबारे यकिन गर्न नसकिएको उनको भनाइ थियो ।

“यसरी उत्पादन गरिएको बीउलाई परीक्षणका लागि निर्माण गरिएको टनेलमा करिब पाँच पटक (पाँच पुस्ता)सम्म रोपेर मात्रै कृषकलाई खेतबारीमा रोप्न पठाउने गरिन्छ”, अधिकारीले भने । उनका अनुसार गत साउनदेखि उक्त नौलो प्रविधिबाट आलुको बीउ उत्पादन प्रक्रिया थालिएको हो ।

यो प्रविधि नेपालमै नयाँ भएकाले यसप्रति कृषि प्राविधिकको चासो बढेको उद्योगका अर्का सञ्चालक राजेन्द्र थापाले बताए । उनका अनुसार उद्योगका प्राविधिकले नयाँका साथै पुरानै जातका आलुको नयाँ प्रविधिबाट बीउ उत्पादन गर्न थालेका छन् ।

उक्त उद्योगमा आलुको बीउ उत्पादनमा नयाँ प्रविधि ल्याइएपछि हाल कृषक, कृषि प्राविधिक तथा बीउ व्यवसायी अवलोकनका लागि आउने गरेका थापाले जानकारी दिए । उनका अनुसार उद्योगमा सिँचाइका लागि गत आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रु ११ लाख ५४ हजार रकम विनियोजनसमेत गरिएको थियो ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?