१६,भाद्र ,काठमाडौँ । पार्टीका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको सैँबुमा आयोजित कार्यक्रममा सहभागी भए ।
उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका जेलवाङ रोल्पा, उपाध्यक्ष अग्निप्रसाद सापकोटा लिसङ्खुपाखर–३ सिन्धुपाल्चोक, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका–२२ मा अभियानको नेतृत्व गर्दै सहभागी भए ।
माओवादीका अनुसार महासचिव देवप्रसाद गुरुङ सुन्दरबजार नगरपालिका–८ भोटेओडार, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौँ, उपमहासचिव वर्षमान पुन कामनपा–१६ गोङ्गबु, उपमहासचिव हरिबोल गजुरेल कमलामाई नगरपालिका सिन्धुली, उपमहासचिव जनार्दन शर्मा चन्द्रागिरि नगरपालिका–२ काठमाडौँमा सहभागी भए ।
यस्तै उपमहासचिव शक्तिबहादुर बस्नेत भेरी नगरपालिका–१ जाजरकोट, उपमहासचिव मातृकाप्रसाद यादव वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेत, सचिव दीनानाथ शर्मा बागलुङ नगरपालिका–१२ बाग्लुङ, सचिव चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८ मोरङ, सचिव देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२० कास्की, सचिव लीलामणि पोखरेल बर्दिबास नगरपालिका महोत्तरी, सचिव गणेश साह काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर काठमाडौँमा अभियानको नेतृत्व गरे ।
यसैगरी सचिव हितमान शाक्य सिस्ने गाउँपालिका–६ रुकुमपूर्व, सचिव हितराज पाण्डे पालुङटार नगरपालिका–६ गोरखा, सचिव डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६ कैलाली, सचिव सुरेन्द्रकुमार कार्की बुद्धशान्ति गाउँपालिका–४ झापा र कोषाध्यक्ष श्रीराम ढकाल भने चन्द्रागिरि नगरपालिका–२ मा नै सहभागी भए । माओवादीले यसपटक सबै पदाधिकारीलाई अभियानको नेतृत्व गर्ने गरी कार्यक्षेत्र निर्धारण गरेको छ ।
अभियानको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अभियानका मुलभूतरूपमा पाँचवटा कार्यभार रहेको चर्चा गर्दै राष्ट्रिय स्वाधिनता, अखण्डता र राष्ट्रिय सुरक्षालाई बलियो बनाउनु रहेको बताए ।
उनले सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्नु, परिवर्तनपछिको उपलब्धि अपहरण र प्रहार गर्ने षड्यन्त्र भइरहेकाले त्यसका विरुद्ध जनतालाई गोलबन्द गर्नु रहेको अभियानको अर्को कार्यभार रहेको बताए ।
यसैगरी राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिबाट सामाजिक–आर्थिक रुपान्तरण गर्नु, नागरिकको जीवनमा देखिने गरी परिवर्तन गर्नु, जनताले अपेक्षा गरेअनुसार उपलब्धि भएन, सुखी जीवनयापनका लागि तीव्रगतिमा विकासका कार्य अगाडि बढाउनु तथा देशमै श्रम र रोजगारीको सुनिश्चित गर्नु अभियानको अर्को ध्येय रहेको उनको भनाइ छ ।
शान्ति प्रक्रियालाई पूर्णता दिँदै सङ्क्रमणकालीन न्याय पूरा गर्नु, सत्यनिरुपण तथा बेपत्ता छानविन आयोगका काम पूरा गर्नु तथा समाजवादको आधार तयार गरी समाजवादी नेपाल निर्माण गर्नका लागि जनमत तयार पार्नु अभियानको अर्को महत्त्वपूर्ण कर्तव्य भएको उनको भनाइ छ ।
बागमती प्रदेशका इञ्चार्जसमेत रहेका उपमहासचिव शर्माले जनताले चाहेको अधिकार, जनमुखी शासन प्रणाली र भ्रष्टाचारबाट मुक्त समाज निर्णाण गर्न रुपान्तरण अभियान चलाइएको बताए । चन्द्रागिरिको घट्टेडाँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले ‘जनताको सुख–दुःखको साथी माओवादी हुनैपर्ने उल्लेख गरे ।
उनले रुपान्तरित हुनका लागि माओवादी जनताको घरदैलोमा आएको बताए ।
गोङ्गबुमा आयोजित अभियानको उद्घाटन गर्दै अर्का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले देश र जनताको पक्षमा इमान्दार भएर काम गरिरहेको बताए । उनले भ्रष्टाचारमा दोषी देखिए माओवादीका नेता तथा कार्यकर्तालाई पनि कारबाहीको दायरामा ल्याउनैपर्ने उल्लेख गरे ।
उपमहासचिव पुनले माओवादीभित्र कोही भ्रष्टाचार र राज्य दोहनमा संलग्न भएको देखिए कसैले उन्मुक्ति नपाउने दोहोर्याए ।
राष्ट्रिय र आत्मनिर्भर पुँजी निर्माण गर्ने राष्ट्रप्रेम तथा देशभक्तिको भावना भएका युवाहरूलाई तयार गर्ने अभियान पनि भएको उनको कथन छ । देशव्यापीरूपमा जनतासँग जोडिने लक्ष्यका साथ सुरु भएको अभियानले माओवादीलाई पुनःस्थापित गर्ने नेताहरूको भनाइ छ ।
प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार