Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

उपप्रधानमन्त्री श्रेष्ठसँग संयुक्त अधिराज्यका राजदूत फेनको शिष्टाचार भेट


१५ भदौ, काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष पुगेकामा राजदूत फेनलाई बधाई दिँदै राजदूतको कार्यकालको सफलताको शुभकामना दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैँ साथ दिएकामा आभार व्यक्त गर्दै दुई देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहिआएको छ भने । छ दशकको लामो राजनीतिक सङ्घर्षपछि स्थापित ऐतिहासिक परिवर्तनलाई नेपाली जनताले महसुस गर्नेगरी आर्थिक सामाजिक विकासका माध्यमबाट संस्थागत गर्नु नेपाल सरकारको मूल कार्यभार रहेको उनले बताए । यसका लागि नेपालका विकास साझेदारको सहयोग महत्वपूर्ण रहेको र सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने भएकाले यसलाई दिगो बनाउन मैत्रीराष्ट्रको सहयोग थप महत्वपूर्ण हुने उनले बताए ।

राजदूत फेनले नेपालको संविधानको विश्वले प्रशंसा गरेको जनाउँदै नेपाल सरकारको प्राथमिकता तथा नीति र बेलायती सहयोगबीच तादात्म्यता रहेको धारणा व्यक्त गरे । सामाजिक न्याय, महिला हिंसाविरुद्धको अभियान र नेपालको भौतिक विकासमा बेलायती सहयोग केन्द्रित रहेको र आफू नेपालमा रहुञ्जेल प्राचीनकालदेखि दुई देशबीच रहिआएको सम्बन्ध अझ बलियो बनाउन प्रयासरत रहने विश्वास उनले दिलाए ।

सो अवसरमा राजदूत फेनले मैत्री सन्धि भएको सय वर्ष पुगेकामा आफूलाई गर्व लागेको र दुई देशबीचको सम्बन्धलाई अझ आधुनिकीकरण गर्नु जरुरी रहेको बताए । बेलायतमा नेपालबारे बेग्लै पहिचान स्थापित भएको, नेपालीप्रति बेलायतीको गहिरो सद्भाव रहेको र उक्त सद्भावको उचित कदर गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने जिम्मेवारी आफूहरूको रहेको उनको भनाइ थियो ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?