Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल


१४ भदाै, बेनी । जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो ।

जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन् ।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरभारनी थानमा पूजाआजा र तलाउमा स्नानका लागि एक हजार बढी भक्तजन पुगेका छन् ।

समुद्री सतहदेखि चार हजार छ सय ३० मिटर उचाइमा अवस्थित खयरभारनी थानमा जनैपूर्णिमाको दिन पूजाआजाका लागि म्याग्दीका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन पुगेको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिए । उनका अनुसार, मौसम अनुकूल भएपछि विगतका वर्षहरूको तुलनामा उल्लेख्य मात्रामा भक्तजन र तीर्थयात्री खयर आएका छन् ।

पाउद्वार हुँदै खयरभारानी जाने तीर्थयात्री खोप्रामा पर्यटन सहकारीमार्फत सामुदायिक लजका साथै खयरभारानी क्षेत्र संरक्षण समितिले बनाएको अस्थायी टेन्टमा आश्रय लिएर बस्ने व्यवस्था मिलाइएको छ ।

क्षमताभन्दा बढी तीर्थयात्री आएपछि आवास व्यवस्थापनमा समस्या भएको छ । खयरभारानीको दर्शनका लागि तीन दिनेअघिदेखि नै पर्यटक र तीर्थयात्री पैदलयात्रा हुँदै खयर पुग्न थालिसकेका थिए ।

त्यसैगरी रघुगङ्गा गाउँपालिका–८ मा धौलागिरि हिमालको काखमा करिब चार हजार पाँच सय मिटर उचाइमा अवस्थित रिखारमा समेत भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

जिल्ला सदरमकाम बेनीदेखि रिखार पुग्न दुई दिनको पैदलयात्रा गर्नुपर्छ । पानीको तलाउनमा रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर रहेको रिखार भक्तजन र पर्यटकको लागि अनौठो र आकर्षणको रुपमा रहेको छ ।

ऋखार क्षेत्रमा दुई दिनदेखि तीर्थयात्रीको चाप बढेको सप्तऋषि युवा क्लबका सल्लाहकार अंकित पुनले बताए । हरेक वर्ष ऋखारको भ्रमण र दर्शनमा आउने तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको छ ।

जनैपूर्णिमाको दिन आफ्नो मनोकाङ्क्षा लिएर नाङ्गीबराही, भगवतीको नौलीबराही र घराम्दीको प्यारीबराही थान र तलाउमा समेत भक्तजनको चहलपहल छ । यी तलाउ र थानमा जनैपूर्णिमाको अवसरमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजनले पूजाआजा र भाकल गर्ने चलन छ ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?