Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नेपाली सेनाद्वारा विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालिम


९ ,भाद्र ,दमौली । तनहुँका तीन विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल गठन गरेको छ ।

भानु नगरपालिका तथा आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाका तीनवटा विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल गठन गरी तालिम सुरु गरेको हो ।

व्यास नगरपालिका-५ चापाघाटस्थित कालीभञ्जन गण (ई)ले जुनियर डिभिजनतर्फ आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता मावि र रुरु भैरवदल गणले भानु नगरपालिका–१२ स्थित सरस्वती मन्दिर माविमा सेवा दल गठन गरेका हुन् ।

सिनियर डिभिजनतर्फ रुरु भैरवदल गणले बन्दीपुर गाउँपालिका–१ स्थित पवित्रा माविमा सेवा दल गठन गरेको छ ।

प्रत्येक विद्यालयमा १८ छात्र र १८ छात्रा गरी ३६ जनाको सेवा दल गठन गरिएको कालीभञ्जन गण (ई)का गणपति प्रमुख सेनानी रामज्योति बोहोराले जानकारी दिए ।

‘राष्ट्रिय एकता’को भावना जगाउन तालिम सुरु गरिएको बोहोराले बताए । नेपाली सेनाद्वारा बालबालिकामा विद्यालयस्तरबाटै राष्ट्रिय भावना जागृत गर्न, अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले राष्ट्रिय सेवा दल गठन गर्ने गरिएको छ ।

कालीभञ्जन गणले विगतका वर्षमा व्यास नगरपालिका–३ स्थित वाराही आवासीय माध्यमिक विद्यालय, व्यास नगरपालिका–१० स्थित चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालय र व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयमा सेवा दलमा विद्यार्थी आबद्ध गराई तालिम सञ्चालन गरेको थियो ।

सेवा दलमा आबद्ध विद्यार्थीलाई तीन महिनाको तालिम प्रदान गरिनेछ । तीन महिनासम्म विद्यार्थीलाई बिहान ६ बजेदेखि ८ बजेसम्म र साँझ ४ बजेदेखि साँझ ६ बजेसम्म तेक्वान्दो, ड्रिललगायतका तालिम प्रदान गरिनेछ ।

प्राकृतिक प्रकोपलगायतका विपद् भइरहने र जनधनको क्षति हुने गरेका कारण स्थानीयस्तरमै जनशक्ति तयार गर्ने उद्देश्यले ऐनमा भएको व्यवस्थाअनुसार दल गठन गरिएको हो ।

दलमा आबद्ध विद्यार्थीलाई एल्मुनाई एशोसिएसनमार्फत सक्रिय गराई सामाजिक कार्यमा समेत उत्प्रेरणा जगाउने लक्ष्य लिइएको गणपति बोहोराको भनाइ छ ।

विशेषगरी स्थानीयस्तरमा हुने विभिन्न खालका विपद्मा खोज तथा उद्धारका लागि राष्ट्रिय सेवा दलमा विद्यार्थीलाई आबद्ध गराएको जनाइएको छ ।

गणले दलमा आबद्धपूर्व विद्यार्थी र उनका अभिभावकलाई उद्देश्यबारे जानकारी गराउने गर्दछ । साथै विद्यार्थीको रुचि, उचाइ, तौल तथा शारीरिक स्वस्थतालगायत मापदण्डका आधारमा छनोट गरिएको जनाइएको छ ।

विद्यार्थीको अतिरिक्त समयमा सेनाको टोलीले विपद्मा खोज तथा उद्धारसम्बन्धी तालिम प्रदान गर्नेछ ।

सेनाले नै पोशाकलगायतका आवश्यक सामग्री उपलब्ध गराइन्छ । तालिमपश्चातको ‘क्लोज क्याम्प’बाट उत्कृष्ट भएकालाई सेनाले विभिन्न देशमा अध्ययन भ्रमणका लागि पठाउने गरेको छ ।

राष्ट्रिय सेवा दलमा आबद्ध विद्यार्थीमा राष्ट्र निर्माणमा जिम्मेवार बन्ने, समूहको नेतृत्व गर्न सक्ने क्षमताको विकास हुने, इतिहास तथा राष्ट्रियताप्रति बफादारितासँगै रक्षार्थ सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?