Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

एक वर्षमै ९ सय किताब पढिन् ८ वर्षीया लीनाले


८ भदाै, स्याङ्जा । नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत छिन् स्थानीय लीना पाण्डे । आठ वर्षीया लीनाले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित पारेकी छन् ।

विसं २०३० मा स्थापना भएको विद्यालयमा बाल पुस्ताकालय नहुँदा साना बालबालिकामा विषयवस्तुभन्दा बाहिरका पुस्तक पढ्ने चलन थिएन । अहिले विद्यालयमा बाल पुस्तकालय स्थापना भएपछि यहाँका बालबालिकामा पुस्तक पढ्ने रुचि विकास हुँदै गएको पुस्तकालयका व्यवस्थापक रुपा न्यौपानेले बताइन् ।

एक वर्ष अगाडि विद्यालयमा साक्षरता कार्यक्रम लागू भएसँगै बाल पुस्तकालय स्थापना भएको उनले जानकारी दिइन् । “बालमैत्री पुस्तकालयमा साना कक्षाका विद्यार्थीले रमाइलारमाइला बालकथाका पुस्तक पढ्न सुरु गरेका छन्”, व्यवस्थापक न्यौपानेले भनिन्, “विद्यार्थीले पुस्तकालयमा मात्र नभएर आफूलाई मन पर्ने पुस्तक घरमा लगेर पनि पढ्ने बानीको विकास गरिरहेका छन् ।” उनले बालबालिकाले घरमा लगेका पुस्तक फिर्ता गर्ने क्रममा किताबभित्रका विषयवस्तु सोध्दा सही उत्तर दिने गरेको बताइन् ।

यसअघि विद्यालयमा बाल पुस्तकालय नहुँदा बालबालिका उमेरअनुसार बाहिरी पुस्तक पढ्नबाट वञ्चित थिए । लीनालाई पनि किताबसँग रमाउने बानीपरेको थिएन । पाठ्यक्रम र पाठ्यपुस्तकमा जे छ, शिक्षकशिक्षकाले जे पढाउनुहुन्छ त्यही विषयवस्तुमा सीमित हुनुपर्ने बाध्यता थियो ।

व्यवस्थापक न्यौपानेले पुस्तकालयमा विद्यार्थीले पढ्ने गरेका पुस्तकसहितको रेकर्ड आफूले राख्ने गरेको बताइन् । “लीनाले गएको साउनदेखि अहिले साउन मसान्तसम्म आठ सय ६७ पुस्तक पेढेको रेकर्ड छ”, उनले भनि । न्यौपानेका अनुसार कक्षा तीनकी कृतिका न्यौपाने र कक्षा दुईकी विभा भट्टराई पनि लीनाले जस्तै धेरै पुस्तक पढ्नेमा रेकर्ड राखेका छन् ।

लीनाकी आमा रेनुका डुम्रेले लीनाले धेरैजसो समय बालपुस्तक पढ्नमा बिताउने गरेको बताइन । उनले विद्यालयमा बाल पुस्तकालय स्थापना भएदेखि छोरीले टिभी, मोबाइललगायतका सामग्रीमा ध्यान दिन छोडेको बताइन् । “स्कुलबाट फर्केपछि गृहकार्य सकाउने पहिलो काम हो, साँझको खाना खाएपछि रङ्गीन बालकथा पढ्छिन्”, डुम्रेले भनिन्, “गृहकार्य गर्न र उनले सक्ने व्यक्तिगत सरसफाइका काम अर्याउन पर्दैन, घरमा पनि अनुशासित भएर अध्ययन गर्न सिकाएका हुन्छौँ ।”

लीनाले पुस्तकालयबाट किताब घरमै लगेर बाबाआमालाई पनि सुनाउने गरेको उनले बताए । “एकपछि अर्को किताब कस्तो होला भन्ने लागेर नयाँनयाँ किताब पढ्छु”, लीनाले भनिन्, “विद्यालय खुल्दा कहिल्यै पुस्तकालयका पुस्तक पढ्न छुटाउँदिन, किताब छानीछानी पढ्न पाइने, घरमा पनि लैजान पाइने भएकाले विद्यालय आउन मन लाग्छ ।”

लीनाले लामो समय विद्यालय बिदा हुँदासमेत पुस्तक घरमा लगेर पढ्ने गरेको बताइन् । विद्यालयका प्रधानाध्यापक पशुपति पाण्डे ‘राजु’ ले बालमैत्री पुस्तकालय स्थापना भएपछि बालबालिकाले कसैको दबाबबिना पुस्तक पढ्न थालेको बताए।

उनले पुस्तकालयका कारण बालबालिकाको विद्यालयमा अनुपस्थित हुने दर कम हुँदै गएकोसमेत जानकारी दिए । प्रधानाध्यापक पाण्डेले पुस्तकालयका कारण बालबालिकामा विकास भएको पढ्ने सीप र बानीमा आएको परिवर्तन देखेर खुसी लागेको बताए ।

कालीगण्डकी गाउँपालिकामा ३५ सामुदायिक विद्यालय छन् । गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले यहाँका सामुदायिक विद्यालयमा कक्षा दुुईमा अध्ययन हरेक विद्यार्थीले नेपाली सरर्र पढ्न सक्ने दाबी गरे । उनले यहाँका पुस्तकालय युरोपेली मापदण्डका आधारमा सञ्चालन गरिएको बताए ।

सूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले यहाँका सामुुदायिक विद्यालयमा क्लबले पुस्तकालय  व्यवस्थापनको काम गरिरहेको बताए । उनले ‘रुम टु रिड’ संस्थाको सहयोगमा बालमैत्री पुस्तकालय सञ्चालन गरिएको जनाउँदै यस अभियानमा पछिल्लो समय पालिकाले पनि लगानी गरेको बताए । विद्यालयमा रहेका पुस्तकालयको अनुगमन, रेखदेख र व्यवस्थापनका लागि १५ शिक्षकसहित दुई जना प्राविधिक टोली खटाइएको उनको भनाइ थियो ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?