Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

चितवनको केरामा ‘ओइलाउने’ रोग


८ ,भाद्र ,चितवन । चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ ।

‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका अनुसार कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा रहेका केरा बगैँचामा यो समस्या देखिएको हो ।

कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार विभिन्न व्याक्टेरियाका कारण ओइलाउने रोग लाग्ने गर्दछ ।

उनले भने, “अहिलेसम्म कार्यालयमा चारवटा बगैँचामा यस्तो समस्या आएको सूचना आएको छ ।”

अहिले नयाँ बिरुवा रोपिएको बगैँचामा यो रोग देखिएको उनको भनाइ छ ।

पुराना बालीका अवशेष, रोगी बिरुवा, गाना तथा कृषि औजार, मौरी तथा अन्य कीराको माध्यमबाट व्याक्टेरिया केरामा सजिलैसँग सर्ने उनले बताए ।

यो व्याक्टेरियाले गुभोको पातबाट आक्रमण सुरु गर्ने उनले जानकारी दिए ।

सरसफाइ तथा बगैँचाको उचित व्यवस्थापन गर्नुपर्ने, फलको अन्तिम हाता निस्किएपछि बुङ्गो हटाइदिनुपर्ने, रोगी बिरुवाको गानोसहित हटाएर नष्ट गर्न सके यो रोगको सङ्क्रमण फैलनबाट बचाउन सकिने उनले बताए ।

एउटै जग्गामा लामो समयदेखि केराखेती गरिरहँदा, रोग लागेको बगैँचामा प्रयोग गरिएको औजार निर्मलीकरण नगरी अर्को बगैँचामा प्रयोग गर्दा रोग सर्ने गरेको उनले जानकारी दिए ।

केराको जराभन्दा माथि गानो कुहिने हुँदा त्यसमा अन्य रोगले समेत आक्रमण गर्ने गरेको देखिएको उनले बताए ।

केरा जोन सञ्चालक समन्वय समितिका संयोजक विष्णुहरि पाण्डेका अनुसार जिल्लामा एक चरणमा ल्याइएको केराका बिरुवामा यो समस्या देखिएको हो ।

उनले सो चरणमा १० हजार बिरुवा झारिएको बताउँदै ती बिरुवा लगाएका बगैँचामा यो समस्या देखिएको जानकारी दिए ।

उनले भने, “अन्य क्षेत्रमा पनि देखिएको हुनसक्छ । हामीले अनुगमन गरिरहेका छौँ ।”

परियोजनाअन्तर्गत केरा जोन कार्यक्रमले वितरण गरेको केरामा रोग देखिएको हो ।

जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा केराखेती गरिँदै आइएको छ । यहाँ मालवोग र जी नाइन जातका केरा लगाउने गरिन्छ ।

यहाँका केरा चितवनसहित काठमाडौँ, पोखरा, बुटवललगायतका सहरमा जाने गरेका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?