Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

‘छाप्राकको राते पहराले निदाउन दिँदैन’


७ ,भाद्र ,वालिङ (स्याङ्जा) । दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ ।

यही पहराका कारण छाप्राक जोखिममा छ । गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस् ।

उनीहरुलाई उही राते पहराले निदाउन दिँदैन । छाप्राकको बस्तीमा केही दिन अघिमात्रै पहराबाट दुई ठूला ढुङ्गा फुटेर आए ।

स्थानीय श्यामबहादुर सार्की पहराबाट फुटेर आएका दुई ढुङ्गा बस्ती नजिकै आएपछि थप त्रसित अवस्थामा गाउँले बसेको बताउछन् ।

“फुटेर आएको ढुंगा घरको नजिकै आएको छ”, उनले भने, “घरभन्दा माथि बाँसघारी भएकाले ढुङ्गाको बेग कम भए पनि बाँस जरैपाई पल्टाएर ढुङ्गा घरैनेर आएको छ ।”

बाँसघारीले गर्दा गाउँमा जनधनको क्षति हुन पाएन नत्र के हुन्थ्यो यसै भन्न सकिने अवस्था थिएन । उक्त पहिरोबाट १७ घर प्रत्यक्षरुपमा प्रभावित हुने सार्की बताउछन् ।

“घरमा बस्दै गर्दा कतिखेर के हुने हो भन्ने कुराले पिरोलिरहन्छ”, उनले भने, “अन्त कहाँ गएर बस्नु ? सङ्ख्या सानो भएको भए विद्यालयमा पनि अटिन्थ्यो होला गाउँ नै उठ्दा त्यो पनि सम्भव छैन ।”

वालिङ–२ का वडाध्यक्ष पोतप्रसाद लम्साल गाउँमाथिबाट अकस्मात् दुई ठूला ढुङ्गा खस्दा घर नजिकैको बारीमा रोकिएका कारण जनधनको क्षति हुन नपाएको बताउछन् ।

दलित समुदायको बाक्लो बसोबास रहेको छाप्राकमा जम्माजम्मी दुई सय चार घर छन् । उक्त पहिरोका कारण हालसम्म १७ घर उच्च जोखिममा छन् ।

अहिलेको अवस्था बढ्दै गएमा पूरै गाउँ नै जोखिममा पर्ने वडाध्यक्ष लम्सालले बताए ।

“बस्ती जोगाउनका लागि बस्तीभन्दा माथि बाँस लगाउँछौँ, यसबाट ढुङ्गालाई रोक्ने र जनधनको क्षति हुन पाउँदैन”, उनले भने, “यहाँका स्थानीय त त्रसित अवस्थामा हुनुहुन्छ, उहाँहरुले वडासँग बस्ती स्थानान्तरण गर्न मागसमेत गर्दै आउनुभएको छ ।”

बस्ती नजिकै ढुङ्गा खसेपछि गाउँले त्रसित छन् । केहीदिन अघि जोखिमस्थलको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहितको टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेको थियो ।

गाउँमाथि रहेको पहराबाट दुई ठूला ढुङ्गा चर्किएर खसेकाले गाउँलेमा डर उत्पन्न भएको उनले बताए ।

लगातार पानी परेर चर्को घाम लाग्दा ढुंगा फुट्ने र चर्कने भई खस्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए ।

“तत्कालै बस्ती सार्न सकिँदैन”, उनले भने, “दीर्घकालीनरुपमा यसको समाधानका लागि भौगर्भिक अध्ययन गरी चट्टानको अवस्था, जोखिमको अवस्थाका बारेमा बुझेर के गर्दा उपयुक्त हुन्छ, सोहीअनुसार अगाडि बढ्छौँ ।”


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?