Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२६ कार्तिक २०८३, बिहीबार
२६ कार्तिक २०८३, बिहीबार

दरमका असला माछा मार्न रोक


४ भदौ, बागलुङ । बागलुङको गलकोट नगरपालिकाले दरमखोलाका माछा मार्न रोक लगाएको छ । दमखोलाको असला माछा लोप हुने खतरा बढेको भन्दै माछा मार्न रोक लगाइएको नगरपालिकाले जनाएको छ ।

दरमखोलाको माछा नेपालमै चर्चित र स्वादिष्ट रहेको तथा गलकोटको पहिचानसँग जोडिएको भन्दै संरक्षणका लागि माछा मार्न रोक लगाइएको हो । दरमखोलाका माछाको माग उच्च भएपछि गैरकानुनी र परम्परागत दुवै तरिकाले माछा मार्न रोक लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गाबहादुर भुजेलले जानकारी दिए ।

दरमखोलाको असला माछाको संरक्षण र दीगो उपयोगिताका लागि जलचर संरक्षण नीति, कार्यक्रम र बजेटसमेत ल्याइएको जनाउँदै भुजेलले भदौ र असोजमा दरमखोलामा माछा मार्न पूर्णरुपमा प्रतिबन्ध लगाइएकाले अटेरी गर्नेलाई जरिवाना गरिने बताए ।

“यहाँको पहिचानसँग जोडिएको दरमखोलाको असला माछा संरक्षण गर्ने नगरपालिकाको नीति छ, नगरपालिकाले जलचर संरक्षण कार्यविधि २०८० बनाएर कार्यान्वयन थालेको छ”, उनले भने, “विशेषगरी वर्षा ऋतुमा असला माछाले फुल पार्ने अवधि भएकाले भदौ र असोजमा माछा मार्न प्रतिबन्ध लगाइएको हो, प्रतिबन्धको उल्लङ्घन भए कार्यविधिको दफा १४ बमोजिम रु एक लाखसम्म जरिवाना गर्नेछौँ ।”

असोज पछि भने परम्परागत तरिकाले माछा पार्न पाइनेछ । यहाँको असला माछा विदेशमा समेत कोसेलीका रुपमा निर्यात हुने गरेको छ । निकै स्वादिष्ट मानिने दरमखोलाको माछा लोप हुन थालेपछि नगरपालिकाले संरक्षणको नीति बनाएको हो ।

बागलुङको ताराखोलादेखि गलकोट हुँदै बडिगाडमा मिसिन पुग्ने दरमखोलाको असला माछा धेरै पाइनेमध्येको खोला रहेको स्थानीयको भनाइ छ । यहाँको चिसो पानीमा पाइने माछा सबैको रोजाइमा पर्छ । यहाँ परम्परागत शैलीमा ढडिया र जाल हालेर माछा सङ्कलन गरिँदै आएको छ ।

असला माछा पोखरीमा नपाल्ने र हिउँखोलामा पाइने भएकाले यसको स्वाद अरू पोखरीमा पालिने माछाका प्रजातिको तुलनामा फरक हुने भन्दै माछाका पारखीले दरमखोलाको माछा अत्यधिक रुचाउने गरेका छन् । यहाँका सयभन्दा बढी स्थानीयले दरमखोलाको माछा मार्ने पेसालाई मुख्य आम्दानीको स्रोतका रुपमा लिएका छन् । नगरपालिकाले भदौै र असोजमा माछा मार्न रोक लगाएपछि दरमखोलाका माछा संरक्षणमा ठूलो सहयोग पुग्ने नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?