Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

बाँदरपीडित किसान भन्छन् : ‘न समय बच्यो न मकै’


३२ श्रावण, बागलुङ । बडिगाड गाउँपालिका–३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँचमुरी मकै भित्र्याएको बारी अहिले बाँदरले रित्तै बनाइदिएको छ । बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस वर्ष मकै भित्र्याउनै नपर्ने गरी बाँदरले मकैबाली नष्ट भएपछि फारमसहित जीवन घर्तीलगायत बाँयचौर गाउँका सबै किसानको मकैबाली नष्ट भएको भएको छ ।

बाँदरले मकैबारीमा क्षति पुर्‍याएपछि यहाँका किसान चिन्तामा परेका छन् । “दुई वर्षअघि पाँचमुरी मकै भित्र्याएको थिए, गत वर्ष बाँदरले आंशिक क्षति गरेको थियो, अहिले त एउटा बोटमा समेत मकै बाँकी छैन, मकै हेर्न दिनभरि बारीमा बिताइन्छ, खाना खान घर आएपछि बाँदरले १० मिनेटमै मकै सखाप पार्छ, न समय रह्यो न मकै”, फारमले भने, “पहिला त्यस्तो बाँदर लागेको जानकारी थिएन, गत वर्षदेखि बाँदरको बिगबिगी छ, स्थानीय सरकारले हामीजस्ता किसानलाई हेर्नुपर्‍यो सम्पन्न व्यक्ति बसाइँसराइ गरेर जाने हामीजस्ता किसानलाई बाँदरले निकै समस्या पार्‍यो ।”

बाँदर हेर्न दिनभरि बारीमा बसे पनि मकै जोगाउन नसक्दा किसानको समय र मकै दुवै खेर गएको छ । अहिले बडिगाडको सिसाखानीमा बाँझो जग्गा बढ्दै गएपछि वनका बाँदर गाउँतर्फ आउन थालेका हुन् । सिसाखानीको बाँयचौर, भलामपाटा, सिरबारे, मौरीभिर र गहरा भन्ने स्थानमा बाँझो जग्गा बढ्दै गएको छ ।

बाँयचौरमा बसाइँसराइ कम भए पनि अन्य स्थानका घर खाली र जग्गा बाँझो हुँदा त्यसको प्रभाव बाँयचौरलगायतका क्षेत्रलाई पर्न गएको हो । बाँदरको दीर्घकालीन समस्या नभएर अस्थायी समस्या समाधानका लागि र किसानलाई राहत दिनसमेत स्थानीय पालिकामा वडामार्फत जानकारी गराए पनि वडा कार्यालयले चासो नदिएको बाँदरपीडित किसानको गुनासो छ ।

“अहिले मकैका घोगा छैनन्, डाँठ मात्रै छन् भाँचेर गाईभैँसीलाई खुवाउनसमेत नमिल्ने गरी बाँदरले सखाप बनाएको छ, सालफेद भन्ने स्थानको जग्गा बाँझो बनेपछि जङ्गलका बाँदर यहाँ आउन सहज भयो”, अर्का पीडित किसान जीवनले भने, “बाँदर हेर्न त गइन्छ, कतिबेला झुक्याएर आउँछ, यहाँ स्थानीय जातको लङ्गुर बाँदरको बथानै छ, पहिला एकदुई पटक बाँदर आएको देखिन्थ्यो, अहिले त दिनभर मकै बारीमै बाँदरको बाँस हुन्छ, धपाउन गएर साध्य नै नभएपछि त्यसै छाडियो ।”

सिसाखानीका स्थानीय दानबहादुर श्रीसका अनुसार पछिल्लो समय सिसाखानीका विभिन्न गाउँमा बाँदरको समस्या बढ्दै गएको छ । पहिला घरेलु हातहतियार पड्काएर बाँदर धपाउने चलन भए पनि अहिले उक्त चलनसमेत नभएकाले बाँदरको सङ्ख्यामा वृद्धि भएको छ । बाँयचौरलगायत सिसाखानीका एक दर्जन गाउँमा अहिले बाँदरले सताइरहेको जनाउँदै श्रीसले बाँयचौर गाउँमा भने भित्र्याउनै नपर्ने गरी मकैबाली सखाप बनाएको बताए।

सत्तरीभन्दा बढी बाँदरको समूहले १० मिनेटमा दुई रोपनी मकैबारी सखाप पार्ने गरेको स्थानीय किसानको भनाइ छ । सिसाखानीमा पछिल्लो समय बाँदरको समस्या बढ्दै गएको बडिगाड–३ का वडाध्यक्ष खड्कबहादुर पुनले जानकारी दिए । पुनले बाँदरका कारण किसान अहिले पीडित बनेको जनाउँदै पालिकामा राहतका लागि जानकारी गराउने बताए । पालिकाको कृषि शाखामार्फत किसानको क्षतिको तथ्याङ्क सङ्कलन गर्ने र राहतका लागि पहल गर्ने वडाध्यक्ष पुनको भनाइ छ ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?