Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२६ कार्तिक २०८३, बिहीबार
२६ कार्तिक २०८३, बिहीबार

दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सञ्चालन


३२ श्रावण, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि एक्स–रे सेवा सञ्चालन भएको छ ।

मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिने केन्द्रमा रहेको एक सय एमए क्षमताको सादा एक्स–रे मेसिन बिग्रिएपछि विगत १२ महिनादेखि सेवा सञ्चालन हुन सकेको थिएन । केन्द्रका निमित्त प्रमुख यमन नेपालीले बिग्रिएको एक्स–रे मेसिन मर्मत गरेर बुधबारदेखि सेवा सञ्चालन गरिएको जानकारी दिए ।

“आर्थिक स्रोतको अभावका कारण एक्स–रे मेसिन सञ्चालन हुन सकेको थिएन”, उनले भने, “धेरै प्रयास गरेर बायोमेडिकल इञ्जिनियर बोलाएर मेसिन मर्मत गरी एक वर्षपछि बुधबार दुई जनालाई पहिलो पटक एक्स–रे सेवा दिएका छौँ ।”

पुरानो एक्स–रे मेसिनको तयारी भइरहेको समयमा गत पुस महिनामा अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले केन्द्रलाई पाँच सय एमए क्षमताको एक्स–रे मेसिन उपलब्ध गराएको थियो । केन्द्रमा जडान भएको विद्युत्को क्षमता कम भएकाले नयाँ एक्स–रे मेसिन सञ्चालन हुन सकेको छैन ।

नयाँ एक्स–रे मेसिन सञ्चालन गर्न धेरै समय लाग्ने भएपछि पुरानैलाई मर्मत गरेर सेवा सञ्चालन गरेको नेपालीले बताए । सो क्षेत्रका बासिन्दालाई एक्स–रे सेवाका लागि सदरमुकाम बेनी पुग्नुपर्ने समस्या हटेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक्स–रेको रिपोर्टका आधारमा बिरामीको समस्या पहिचान गर्न सहज भएको छ ।

लायन्स क्लब अफ म्याग्दी दरबाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक तीन सय २५ ले लायन्स क्लब अन्तर्राष्ट्रियको फाउण्डेशनको कोषबाट ४२ लाखमा पाँच सय एमए एक्स–रे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन खरिद गरेर उपलब्ध गराएको थियो ।

पाँच सय एमए क्षमताको एक्स–रे मेसिन सञ्चालन गर्न ७५ देखि ८० केभिए क्षमताको विद्युत्को स्टेपलाइजर आवश्यकपर्नेमा केन्द्रमा हाल ५० केभिए क्षमताको मात्र स्टेपलाइजर छ । बेनी अस्पतालमा रहेको तीन सय एमए क्षमताको एक्स–रे दरबाङ र दरबाङको एक्स–रे बेनी अस्पतालमा साटफेर गराउन दाता लायन्स क्लबलाई पत्राचार गरिएको छ ।

यसैगरी मालिका गाउँपालिकाले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच श्यया क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए ।

आधारभूत अस्पताल सञ्चालन गर्न निक साइमन इन्टिच्युटले एक जना चिकित्सक, एक जना रेडियोग्राफर र एक जना स्टाफ नर्सको जनशक्ति सहयोग गरेको छ । एक जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा छात्रवृत्तिमा अध्ययन गरेका थप एक जना चिकित्सक आउने भएका छन् ।

आधारभूत अस्पतालका लागि गाउँपालिकाले थप २४ लाख बजेट विनियोजन गरेको अध्यक्ष गर्बुजाले बताए । हाल प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउन्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधि पसल सञ्चालन गरेको छ ।

भवन बनाइएकाले शव परीक्षणको काम पनि दरबाङमै गर्ने तयारी भएको छ । अहिले शव परीक्षण गर्न बेनी ल्याउनुपर्ने समस्या छ ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?