Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार


३१ श्रावण, भोजपुर । भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ ।

आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका छन् , उनी करिब १८ वर्षदेखि उक्त कर्ममा लागेका हुन्। राईले तीन वर्ष अघि सदरमुकाम नजिकै टक्सारमा साढे छ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि यसलाई थप विस्तार गरेको उनको भनाइ छ ।

“विदेश जानुभन्दा स्वदेशमै व्यावसायिक भएर काम गर्न सकियो भने आम्दानी गर्न सकिन्छ”, राईले भने, “वार्षिक रुपमा रु नौ लाखसम्मको तरकारी बिक्री गर्छु । त्यसमा कामदार, बीउबिजनलगायत खर्च कटाउँदा वार्षिक रु तीनदेखि रु चार लाखसम्म आम्दानी हुन्छ ।”

कृषक राईले आफ्नो तरकारी फर्ममा गोलभेँडा, कुरिलो, सिमी, बन्दाकोभी, काउली तथा विभिन्न बेमौसमी तरकारबाली लगाएको बताए । कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको कृषक राईले बताए । अहिले महिनामा पाँच-छ जनालाई रोजगारीसमेत दिएको उनको भनाइ छ ।

“आफ्नै ठाउँमा कृषि कर्म गर्न पाउँदा खुसी लाग्छ”, उनले भने “विदेश जाने मोह त्यागेर लामो समयबाट यही पेसामा लागेको छु । यहाँबाट आएको आम्दानीबाट सन्तुष्ट छु । केही मानिसहरुलाई रोजगारी पनि दिएको छु ।”

उत्पादित कृषि उपजको बजारीकरणमा राज्यले सहयोग गरे अझ बढी आम्दानी लिन सकिने कृषक राईको भनाइ छ । बजारीकरणको समस्याका कारण कुनै समयमा तरकारी बारीमा कुहिएर जाने अवस्था आउने गरेको उनले बताए । “कृषि व्यवसायको मुख्य समस्या बजारीकरणको छ”, उनले भने, “बजारको राम्रो व्यवस्था नहुँदा कुनै समयमा बारीमा तरकारी कुहिएर गएको अवस्था पनि छ ।”

नमूना कृषि फर्मका रुपमा विस्तार गर्न कृषि ज्ञान केन्द्रबाट आर्थिक वर्ष २०७९-८० मा रु दुई लाख ८९ हजार अनुदान सहयोग पाएको राईले बताए । आफूले गरेको कृषि कर्मलाई राम्रो देखेर राज्यको आँखा परेकामा खुसी लागेको उनको भनाइ छ । “लामो समयबाट कृषिमा लागेको थिए”, उनले भने, “तर मैले राज्यका तर्फबाट खास सहयोग पाएको थिइनँ । यो पटक भने राज्यले सहयोग गरेको छ । यसले मलाई थप हौसला मिलेको छ ।”

युवा लक्षित, महिला लक्षित, राजमार्ग लक्षित तरकारी खेती कार्यक्रम, नमूना कृषि कार्यक्रमलगायत योजनाहरु सञ्चालन गरेर कृषकलाई आवश्यक प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गणेश खत्रीले बताए । राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि कृषिमा लाग्नेको सङ्ख्या बढेको उनको भनाइ छ । “व्यावसायिक रुपमा कृषिमा लागेका कृषकलाई हामीले आवश्यक सहयोग गर्दै आएका छौँ”, उनले भने, “राज्यबाट यस्ता खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि कृषिमा लाग्नेको सङ्ख्या यो जिल्लामा बढेको अवस्था छ । यसलाई अझ व्यवस्थित र प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर हामी लागिपरेका छौँ ।”


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?