Trending
>>   कोप २९ विश्वव्यापी जलवायु सम्झौता प्याकेजमा पुग्यो >>   प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग आसन्न चीन भ्रमणबारे छलफल गर्दै >>   यी दुई प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १० गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

२,३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्टमा, भर्नाको पहिलो सूची प्रकाशन


३० ,श्रावण ,काठमाडौँ । कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको छ । आज काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले वेभसाइटमा सूची सार्वजनिक गरेको हो ।

छात्रवृत्तिका लागि साउन २० गते परीक्षा सञ्चालन गरेर त्यसै दिन प्रारम्भिक नतिजा प्रकाशन गरिएको थियो । छात्रवृत्तिका लागि आवेदन दिनेमध्ये ६ हजार १७ जनाको आवेदन स्वीकृत भएको थियो । प्रवेश परीक्षामा ५ हजार १६२ जना विद्यार्थी सहभागी हुनुभएको थियो । उहाँहरुमध्ये ३ हजार ३१ जना छात्र र १ हजार ५१९ जना छात्रा गरी ४ हजार ५५० जनाको नाम प्रारम्भिक नतिजाको एकमुष्ठ योग्यता क्रममा प्रकाशित गरिएको थियो । त्यसपछिका २ दिन (साउन २१ र २२) गते पुनर्योगका लागि समय दिइएको थियो । यसमा ५४ जना परीक्षार्थीले निवेदन दिनुभएको थियो ।

आज प्रकाशन गरिएको म्याचिङ् लिष्टमा विज्ञान विषयका लागि १ हजार ४५२ जना, व्यवस्थापन विषयका लागि ७४५ जना, कानुनमा लागि ४३ जना, मानविकीका लागि ४ जना, शिक्षाका लागि ५ जना, सिभिल इञ्जिनियरिङ्का लागि ४९ जना, कम्प्युटरका लागि १८ जना, इलेक्ट्रिकलका लागि ११ जनाको नाम समावेश छ । यीमध्ये प्राविधिक धार (सिभिल इञ्जिनियरिङ्, कम्प्युटर, इलेक्ट्रिकल) का विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराइनेछ । कम्प्युटर विषयमा १८ जना (शिवपुरी मा. वि., महाराजगञ्ज ८ जना र सरस्वती निकेतन मा. वि., ब्रह्मटोल (कम्प्युटर १० जना), सिभिल इञ्जिनियरिङ्मा ४९ जना (ज्ञानोदय सेकेण्डरी स्कूल, बाफल १२ जना, पद्मकन्या मा. वि., डिल्लीबजार २० जना र महेन्द्र राष्ट्रिय मा. वि., बालुवाटार, १७ जना) र इलेक्ट्रिकल ११ (विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर) जनाले भर्ना पाउनेछन् ।

साउन २७ गतेसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका विषय तथा शिक्षण संस्थाका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु पनि शिफारिस गरिएका छन् । प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नं., अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नं., श्रेणी (¥याङ्क), प्राथमिकता आदेश (प्राइरोटी आर्डर) समावेश गरिएको छ ।
यसैगरी क्याटागोरीअन्तर्गत आरक्षण सम्बन्धी विवरण समावेश गरिएको छ । छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०%, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५%, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९%, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको छ । बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानेर सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३%, आदिबासी र जनजातिलाई १५%, मधेसीलाई १२%, खसआर्यलाई १७% आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइएको छ । दलितलाई ९%, मुस्लिमलाई २%, थारुलाई ४%, अपाङ्गता भएको व्यक्तिलाई २%, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४%, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २% छात्रवृत्ति प्रदान गरिएको छ । यसलाई क्याटागोरी शीर्षकमा उल्लेख गरिएको छ ।

आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले माध्यमिक तहसम्मको शैक्षिक अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्य राखेर छात्रवृत्ति प्रदान गर्ने प्रणालीलाई संस्थागत गरिएको हो । नतिजा प्रकाशनपछिको संक्षिप्त प्रतिक्रियामा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, परीक्षालाई मर्यादित, निष्पक्ष र सन्तुलित बनाउन प्रविधिमा आधारित परीक्षा र नतिजा प्रकाशन गरिएको बताउनुभयो ।
पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरुले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ । यसअवधिमा भर्ना नभए अरु विद्यार्थीलाई भर्ना हुने अवसर दिइनेछ । यस सूचीमा पहिलो लिष्टमा ननम भएका तर भर्ना नभएका विद्यार्थीको नाम स्वतः हट्नेछ । भर्ना प्रणालीका विषयमा जानकारी दिँदै शिक्षा अधिकारी सीताराम कोइरालाले भन्नुभयो, ‘शिक्षा कानुनजस्ता विषयमा कोटामा पुग्ने गरी पनि विद्यार्थीहरुको आवेदन परेन । विज्ञान विषयमा अत्याधिक चाप भयो ।’
प्राविधिक विषय अध्ययन गराउने ६ वटा सामुदायिक विद्यालयसँगै छात्रवृत्ति उपलब्ध गराउने विद्यालयको संख्या १७७ छ ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?