Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

आमा समूहद्वारा व्यावसायिक ‘फेन्सी चप्पल’ उत्पादन


३० ,श्रावण ,बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन् ।

बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका महिलाले चप्पल उत्पादन गर्न थालेका हुन् ।

पहिलो चरणमा नगरपालिकाबाट आधारभूत तालिम लिएका महिलालाई पुनः आमा समूहकै पहलमा थप १५ दिने विशेष तालिम दिएपछि महिलाले व्यावसायिक चप्पल उत्पादन सुरु गरेको समूहका उपाध्यक्ष विन्दु कार्की पुर्जाले जानकारी दिईन् ।

उनका अनुसार आमा समूहकै भवनमा महिलाले चप्पल उत्पादन गर्न थालेका छन् ।

बजारमा बाहिरबाट आयात गरेका चप्पलको खरिद बिक्री हुदै आएकामा आमा समूहले नै व्यावसायिकरूपमा चप्पल उत्पादन सुरु गरेपछि स्थानीय बजारमा स्थानीय उत्पादनकै सामग्रीको उपलब्धता गराउने योजना रहेको समूहका सचिव निसा जिसीले जानकारी दिईन् ।

फेन्सी चप्पलको माग बढी हुने भएकाले व्यावसायिकरूपमा उत्पादन सुरु गरिएको चप्पल बनाउने व्यवसायबाट महिलाको आयआर्जनमा समेत टेवा पुग्ने लक्ष्य राखिएको उनले बताईन् ।

महिलाले फेन्सी चप्पल सामूहिकरूपमा बनाउन सुरु गरेको उद्योगको सोमबार प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले शुभारम्भ गरेका छन् ।

कार्यक्रममा प्रजिअ पौडेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी र वडाध्यक्ष चक्रबहादुर केसीले स्थानीय बजारमा स्थानीय उत्पादनकै सामग्रीको उपलब्धता गराउन सकेमा यसले महिलाको उद्यमशीलताको प्रवर्द्धन गर्नेमा जोड दिए ।

सो अवसरमा गलेश्वर मन्दिर परिसरमा शनिबार राखिएको घुम्ती प्रदर्शनी कक्षबाट ५९ जोर चप्पल बिक्रीसमेत भएको समूहले जनाएको छ ।

सो समूहले उत्पादन गरेका चप्पलको गलेश्वरमा बिक्रीकक्षसमेत सञ्चालन गर्ने योजना बनाएको समूहका अध्यक्ष फूलकुमारी रोकाले जानकारी दिईन् ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?