Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गोरखाको धार्चेमा व्यावसायिकरूपमा ड्रागन फ्रुट खेती


२६ श्रावण, गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ स्थित लापुबेँसीमा व्यावसायिकरूपले ‘ड्रागन फ्रुट’ खेती गरिएको छ । करिब सात रोपनी जमिनमा गरिएको उक्त खेतीबाट मनग्य आम्दानी हुन थालेको धार्चे ड्रागन फ्रुटका सञ्चालक सोम गुरुङले जानकारी दिए । “पहिलो वर्ष रु एक लाख बराबरको ड्रागन फ्रुट बेचेको थिए”, उनले भने, “यो वर्ष रु तीन लाखको फल बिक्री भइसक्यो, अझै रु चार लाखभन्दा बढी आम्दानी हुने अनुमान गरेको छु ।”

ड्रागन खेती सुरु गरिएको १३ महिनामा पहिलोपटक उत्पादन भई फल बिक्री गर्न सुरु गरिएको कृषक गुरुङले जानकारी दिए । विसं २०७७ चैत महिनामा बूढीगण्डकी नदी किनारमा पर्ने लापुबेँसीमा लगाइएको उक्त खेतीले अहिले राम्रो उत्पादन दिन थालेको छ । पहिलो वर्ष अपेक्षा गरिएअनुसार उत्पादन नभए पनि यो वर्ष भने ड्रागन फ्रुटले मनग्य आम्दानी दिएको उनको भनाइ थियो ।

चर्चित मनास्लु पदमार्गको छेवैमा लगाइएको ड्रागन फ्रुट यतिबेला जताततै फुलेको देख्दा पदर्मागमा पुग्ने पर्यटकसमेत लोभिएर एकछिन उभिएरै भए पनि फार्म अवलोकन गर्ने गरेको कृषक गुरुङले बताए ।

“उत्पादित ड्रागन फ्रुट आधाजसो यहीँ नै बिक्री हुन्छ”, उनले भने, “बाँकी भने मागको आधारमा आरुघाट, गोरखा बजार र राजधानी पठाउने गरेको छु ।” फार्ममा एक हजार चार सय बोट ड्रागन फ्रुट लगाइएकामा सात वटा बोट मात्र सेतो र बाँकी सबै रातो प्रजातिका छन् ।

उत्पादित फल प्रतिकिलो रु छ सयसम्ममा बिक्री हुने गरेको छ । “एकदुई किलो लैजाने ग्राहकलाई प्रतिकिलो रु छ सय लिने गरेको छु”, कृषक गुरुङले भने, “होलसेल मूल्यमा लैजानेलाई भने रु पाँच सयका दरले बिक्री गर्ने गरेको छु ।” समुद्री सतहबाट आठ सय ५० मिटर उचाइमा रहेको जमिनमा ड्रागन खेती गरिएको उनले बताए ।

सामान्यतया ड्रागन फ्रुट एक हजार दुई सय मिटरसम्मको उचाईमा पनि खेती गर्ने गरिएको छ । उनले ड्रागन खेतीबाट राम्रो आम्दानी हुने भएकाले युवा पुस्तालाई विदेशिनुभन्दा व्यावसायिकरुपमा यहीँ खेतीतर्फ लाग्नसमेत सुझाव दिए । सुरुआती चरणमा रु १३ लाख खर्चेर खेती सुरु गरिएकामा अहिले गाउँपालिका र कृषि ज्ञान केन्द्रले रु तीन÷तीन लाख गरी कूल रु छ लाख अनुदान उपलब्ध गराएका कृषक गुरुङले बताए ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?