Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

म्याग्दीका ६ हजार घरधुरीमा पुग्यो खानेपानी


२५ श्रावण, म्याग्दी । म्याग्दीका छ हजार दुई सय २५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो ।

जिल्लामा कार्यालय स्थापना भएको छ वर्षको अवधिमा सञ्चालित खानेपानी आयोजनाबाट ३१ हजार व्यक्ति लाभान्वित बनेका खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०७९\८० मा मात्रै ३२ योजना सञ्चालन गरेकामा पाँच वटा निर्माण सम्पन्न भएका छन् ।

रानीपौवा, धारापानी, ढोलठान, डम्मरा र भगवतीमा सम्पन्न भएका खानेपानी आयोजनाबाट एक हजार ८८ घरधुरीका छ हजार जना लाभान्वित बनेको कार्यालयका इन्जिनियर राजेश उलकले जानकारी दिए ।

उनका अनुसार, एक वर्षमा एक सय १४ दशमलव ६० किलोमिटर पाइपलाइन जडान गरिएको छ । सोह्र पानी ट्याङ्की निर्माण भएका छन् भने एक हजार ५२ घरधुरीमा खानेपानीको धारा निर्माण भएको छ । विपिटी, सिसी, डिसी र क्रसिङलगायतका ५४ वटा पूर्वाधार बनेका छन् ।

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको एक घर एक धारा खानेपानी अभियानले म्याग्दीमा तिब्रता पाएको छ ।

गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयअन्तर्गत म्याग्दीमा स्थापना भएको यस कार्यालयले जिल्लामा खानेपानीको पहुँच विस्तारको लागि विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ ।

गत वर्ष प्रदेश सरकारमार्फत २४ खानेपानी आयोजना सञ्चालन गरेको यस कार्यालयले सङ्घतर्फ जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत आठ खानेपानी आयोजना सञ्चालन गरेको थियो ।

तथ्याङ्कअनुसार, हालसम्म ८८ दशमलव पाँच प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच पुगेको म्याग्दीमा अझै पनि १२ प्रतिशत जनसङ्ख्या खानेपानीको जोहो गर्न ३० मिनेटको समय खर्चनुपर्ने बाध्यतामा छन् ।

“आम नागरिकलाई शुद्ध खानेपानीको पहुँच पु¥याउन एक घर एक धारा खानेपानीको अभियान सञ्चालन भएको छ, खानेपानीको मुहानको भरपर्दो स्रोत नहुने र क्रमागत योजनामा बजेट थोरै विनियोजन हुने समस्याले योजनालाई समयमा नै पूर्णता दिलाउन समस्या छ”, कार्यालय प्रमुख पौडेलले भने।

गत आवमा सम्पन्न भएको रघुगङ्गा गाउँपालिका–३ को रानीपौवा खानेपानी आयोजनाबाट एक सय २४ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ ।

आव २०७३\७४ बाट सुरु भएको यस आयोजनालाई क्रमागत योजनाको रुपमा अघि बढाएको कार्यालयले कुल तीन ट्याङ्की, सात सय मिटर मुख्य र १७ दशमलव नौ किलोटिमर वितरण पाइपलाइन निर्माण गरेर पूर्णताः दिएको हो ।

खानेपानी आयोजना निर्माण भएपछि खानेपानीको लागि एउटै धारोमा पालो लगाउनुपर्ने बाध्यता र झण्झट हटेको स्थानीय उमा कार्कीले बताए ।

रघुगङ्गा गाउँपालिका–२ भगवतीमा आव २०७५\७६ देखि सुरु भएको चिमखोला मुहान, दग्नाम पिप्ले भगवती खानेपानी आयोजनाको समेत निर्माण सम्पन्न गरिएको छ ।

चार वटा ट्याङ्की निर्माण भएको यस आयोजनाबाट चार सय ३२ घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ ।

धौलागिरि गाउँपालिका–७ धारापानीमा पनि क्रमागत योजनाको रुपमा सञ्चालित खानेपानी आयोजना सम्पन्न भएर तीन सय ५३ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ ।

आठ हजार पाँच सय मिटर मुख्य र २० किलोमिटर शाखा पाइपलाइन निर्माण भएको यस आयोजनामा दुई वटा ट्याङ्की र दुई वटा विपिटी निर्माण भएको छ ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?