Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

लम्पी स्किन : एक लाख बढी गाईभैँसीलाई खोप


२३ श्रावण, गण्डकी। गण्डकी प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । गाईभैँसीमा फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो ।

यहाँ कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म १२ दसमलव ०७ प्रतिशत गाईभैँसीलाई मात्र उक्त खोप दिइएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए ।

प्रदेशका ११ वटै जिल्लामा लम्पी स्किनको सङ्क्रमण देखिएपछि गत आवको अन्तिममा प्रदेश सरकारले बजेट रकमान्तर गरेर खोपका लागि रु एक करोड बजेट छुट्याएको थियो । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रमार्फत ५१ हजार चार सय, स्थानीय तहबाट ४६ हजार सात सय दुई र किसानले आफ्नै खर्चमा पाँच हजार एक सय २८ डोज खोप लगाएको मन्त्रालयले जनाएको छ ।

महाशाखा प्रमुख डा न्यौपानेका अनुसार गण्डकीमा हालसम्म ६९ हजार आठ सय ४१ गाईवस्तु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ स्थानीय तहका पशुचौपायामा सो रोगको सङ्क्रमण देखिएको छ । मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र मनाङको मार्फाभूमि गाउँपालिकामा अहिलेसम्म उक्त रोगको सङ्क्रमण देखिएको छैन ।

सो रोग लागेर हालसम्म तीन हजार दुई सय ४७ गाईवस्तुको मृत्यु भएको छ भने ३१ हजार तीन सय पाँच निको भएका छन् । ३८ हजार पाँच सय ३६ गाईभैँसी अहिले पनि सङ्क्रमित अवस्थामा छन् ।

महाशाखा प्रमुख डा न्यौपानेले मनाङ र मुस्ताङ जिल्लामा भने उक्त रोग नियन्त्रणमा आएको बताउनुभयो । प्रदेशका बाँकी नौ जिल्लामा पनि सङ्क्रमणदर घट्दै गएको उनको भनाइ छ । “जिल्लामा रहेका भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ, सङ्क्रमित पुश भेटिए तुरुन्त औषधोपचार गर्ने गरिएको छ”, महाशाखा प्रमुख डा न्यौपानले भने, “प्रकोप रोकथाम तथा नियन्त्रणका लागि जनस्तरमा सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।”

सङ्क्रमित गाईभैँसीको ओसारपसार नै यो रोग फैलिनुको मुख्य कारण रहेको पशु चिकित्सक बताउँछन् । चरिचरनमा लैजाँदा, एउटै पोखरीको पानी खुवाउँदा, साझा सुइँको प्रयोग, लामखुट्टे, किर्नाको टोकाइ आदिबाट ‘लम्पी स्किन’ गाईभैँसीमा सर्ने गरेको डा न्यौपानेले बताए ।

लम्पी स्किन रोगको औषधि पत्ता नलागेका कारण खोप नै बढी प्रभावकारी हुने उनको भनाइ छ । ‘लम्पी स्किन’ रोग लाग्दा गाईभैँसीमा उच्च ज्वरो आउने, तौल घट्ने, छालामा गाँठागुँठी आउनेजस्ता लक्षण देखिने गरेको छ ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?