Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

कागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र


२३ ,श्रावण ,दमौली । तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा राष्ट्रिय समाचार समिति (रासस)बाट यही साउन २१ गते समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो ।

कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालिमाटी तरकारी तथा फलफूल बजार समितिका कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिए ।

उनले फलफूल समितिको कार्यकारी निर्देशक डिपी पुडासैनी र व्यवसायी हरिप्रसाद शर्मासँग तनहुँमा उत्पादित कागती बिक्री वितरणको व्यवस्था मिलाउन आग्रह गरेको बताए । उनले भने, “कागतीले बजार नपाएपछि किसान समस्यामा परेकाले बजारको सहजीकरणको पहल गरेका हौँ । छलफल सकारात्मक भएको छ ।”

छलफलका क्रममा गुणस्तरीय कागती उत्पादन हुनसके फलफूल बजारले कागती खरिद गर्ने विषयमा सहमतिसमेत भएको छ । समितिको कार्यकारी निर्देशक पुडासैनीले यहाँ दैनिक १५ हजार कागतीको माग रहेको र अधिकांश कागती भारतबाट आउने गरेको जानकारी दिए । उनले भने, “९५ प्रतिशत भारतीय कागती आउँछ, नेपाली कागती आउन सके किसानले राम्रो मूल्य पाउन सक्छन् ।”

कागतीका मुख्य व्यवसायी शर्माका अनुसार कालिमाटी तरकारी बजारमा किसानले कागती बिक्री गर्दा प्रतिकिलो रु एक सयदेखि रु एक सय २० प्राप्त गर्न सक्नेछन् । उनका अनुसार टिपेको चार/पाँच दिनसम्म ल्याउँदा मूल्य राम्रो पाउने र त्यसपछि ल्याएको कागतीको गुणस्तर कम हुने भएकाले मूल्यमा समस्या हुने गरेको छ । देवघाट देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरेका छन् ।

विदेशबाट फर्किएर कागती खेती सुरु गर्नुभएका उहाँले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।” पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गर्नुभएका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री गर्न थालेका छन् ।

गत वर्ष पहिलोपटक रु ७० हजारको कागती बिक्री भएको उनले बताउनुभयोए । यो वर्ष सात सय केजी बिक्रीका लागि तयार भएका छन् । भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उहाँको भनाइ छ । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन ।”

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा कागतीखेतीतर्फ कृषकको आकर्षण बढेको छ । केन्द्रले कागतीखेती कृषकलाई बगैँचासम्म पुगेर आवश्यक परामर्श दिने गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा जिल्ला रु २० लाख मूल्य बराबरका कागती उत्पादन भएका छन् । पाँच सय हेक्टर क्षेत्रफलमा कागतीखेती गरिएकामा चार सय ५० मेट्रिक टन कागती उत्पादन भएको छ ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?