Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

शिक्षकले विद्यार्थीलाई नमस्कार गर्दा …


२२ ,श्रावण ,डुम्रे । तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन् ।

विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ तर सो विद्यालयमा विद्यार्थीलाई गुरुले नमस्कार गरेर सम्मान वा स्नेह प्रकट गर्दै स्वागत गर्ने परम्परा थालेका हुन् । विद्यार्थीलाई संस्कारयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले यस्तो संस्कारको विकास गरिएको विद्यालयले जनाएको छ ।

शिक्षक, अभिभावक, आफूभन्दा ठूला, साना सबैले एक अर्कालाई सम्मान गर्नुपर्छ भन्ने भावना लोप हुन लागेकाले सिकाइका निम्ति प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्न सुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले जानकारी दिए । उनले भने, “हामीभन्दा ठूला मान्छेले नै सिकाएको हुँदा हामीले नमस्कार गर्नुपर्छ भनेर विद्यार्थीले सिक्ने हुँदा अभियान चलाएका हौँ ।”

विद्यार्थीलाई बानी पार्ने र नमस्कार गर्ने एउटा शिष्टाचार हो भन्ने शिक्षा बुझाउन सजिलो भएको विद्यालयले जनाएको छ । वार्षिक परीक्षामा विद्यार्थी पास भए पनि जीवनको परीक्षामा असफल भइरहेकाले संस्कारयुक्त शिक्षा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले बताए ।

शिक्षकका अतिरिक्त व्यवस्थापन समितिका अध्यक्ष र सदस्य पालो लगाएर हरेक दिन बिहान ९ः३० बजे नै विद्यालयको प्रवेशद्वारमा आएर नमस्कार गर्न खटिने गरेका छन् । संसार बदल्ने हो भने पहिला आफू बदल्नुपर्छ भन्ने हेतुले शिक्षकले नै नमस्कार गरेर सुरुआत गरेको सहायक प्रधानाध्यापक घनश्याम गौतमले बताए ।

व्यवस्थापन समिति र शिक्षकको बैठकले निर्णय गराएर अभियानको सुरुआत गरिएको पूर्वप्रधानाध्यापक तीर्थराज परियारले बताए । विद्यार्थीलाई किताबको शिक्षा सिकाएर राष्ट्रलाई फाइदा नगर्ने हुँदा संस्कार सिकाउन थालिएको सो वडाका निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।

सुरुमा सरहरुले नमस्कार गर्दा आफूलाई अप्ठ्यारो लागेको भए पनि हाल सहज भएको कक्षा ९ मा अध्ययन गर्ने प्रमिला ढुङ्गानाले बताईन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो नभएको गुनासोका बीच विद्यार्थीलाई अनुशासनको परिधिभित्र बाँध्न अभियानले सघाउने विद्यालयको विश्वास छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?