Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बन्दै गरेको पुल बाढीले बगायो


२० श्रावण, रूपन्देही । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–१०, पानबारीमा बन्दै गरेको कञ्चन पुलको आधा भाग बाढीले बगाएको छ। सैनामैना रिङरोड अन्तर्गत पर्ने उक्त पुल बनाउन थालेको दुई वर्ष पूरा भएको छ। तीन वर्षभित्रैमा निर्माण सम्पन्न हुने भनिएको पुलको आधा भाग हालै आएको बाढीले भत्काएको हो।

स्थानीयवासी पुल बाढीले भत्काएपछि अब यहाँ पुल नबन्ने हो कि भन्ने चिन्ता लागेको बताउँछन्। पुलको आधा भाग ढलाइ हुने क्रममा रहे पनि विगत लामो समयदेखि काम नहुँदा गत साता आएको बाढीले पुलको निर्माणाधीन आधा भाग नै भत्काएको स्थानीयको भनाइ छ।

पानबारी टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद पाण्डेले निर्माण व्यवसायीको लापरबाहीका कारण पुल निर्माणको चरणमै पुल बाढीले बगाएको बताए। उनले पुल निर्माणमा भएको ढिलाइ र लापरबाहीकै कारण बाढीले पुल बगाएको गुनासो गरे। पानबारीको उक्त क्षेत्र वर्षौंदेखि पिछडिएको र कुनै पनि सरकारले उक्त क्षेत्रको विकासमा ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन्।

पुल निर्माणको पहिलो वर्ष छिटो छिटो काम भए पनि त्यसपछि भने पुल निर्माणको काम अलपत्र परेको पाण्डेको गुनासो छ। बाढीले ढलान गर्न लगाइएको टेका र बिछ्याइएको स्ल्याप सबै बगाएको स्थानीयले बताएका छन्। टोल विकास संस्थाका अध्यक्ष पाण्डेका अनुसार पहिलो बाढीले नै पुललाई धेरै क्षति गरेको र पूरै वर्षा बाँकी रहेकाले पुल बनिसकेको भागसमेत बगाउने हो कि भन्ने जोखिम रहेको बताए।

सैनामैना नगरपालिका–१० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले पुल बाढीले भत्काएको बताउँदै सङ्घीय बजेट अन्तर्गत पुल बनेकाले आफूहरूलाई त्यस विषयमा थप जानकारी नभएको बताए।

उक्त पुलको ठेक्का रमन ओम इन्फोटेक जेभी काठमाडौँले लिएको छ। पुल निर्माण कम्पनीका साइट मेनेजर टेकबहादुर भट्टराईले वर्षाको समय भएकाले उक्त पुलको भत्किएको बाँकी भागको पुनर्निर्माण र पुलको सबै निर्माणको काम दसैँपछि मात्रै सुरु हुने र अर्को वर्ष तयार हुने दाबी गरे।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?