Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

पुनहिलमा विद्युत् र खानेपानीको समस्या


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुद्रि सतहबाट ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र विद्युत् अभाव भएपछि पर्यटकलाई समस्या भएको हो ।

यहाँ हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यअवलोकन गरी प्रकृतिमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । घोडेपानीबाट बिहानै उकालो हिँडेर पुनहिल जाने क्रममा पदमार्गमा उज्यालोका साथै मोबाइल, क्यामेरालगायत सामग्री चार्ज गर्न विद्युत् तथा पिउन र शौचालयमा प्रयोग गर्ने पानी नहुँदा समस्या भएको काठमाडौँबाट आएका श्याम रञ्जितकारले गुनासो गरे ।

‘अध्यारोमा उकालो हिँड्न पदमार्गमा सडक बत्ती नहुँदा, मोबाइल, क्यामेरामा ब्याट्री सकिँदा विद्युतीय उपकरण चार्ज गर्ने सुविधा भए पर्यटकलाई सजिलो हुने थियो’, उनले भने, ‘पानीको अभावमा शौचालय जान पनि समस्या भइरहेको छ ।’

पर्यटकको सहजताका लागि पदमार्ग उज्यालो बनाउन, विद्युत् आपूर्ति नियमित गर्न केही तल रहेको मूलबाट पानी तान्ने उद्देश्यले विसं २०८० पुसमा नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले घोडेपानीबाट १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिलसम्म लाइन पुर्‍याएको थियो ।

स्थानीयले ‘मिटरबक्स’ जडानमा बेवास्ता गर्दा विद्युत् आपूर्ति रोकिएको केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । उनका अनुसार स्थानीयवासीको माग अनुसार पुनहिलमा करिब २५ लाख रुपैयाँ खर्चेर बिजुलीको लाइन पुर्‍याइएको हो ।

घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले मिटरबक्स जडानका लागि गाउँपालिकाले बेवास्ता गरेको गुनासो गरे । पुनहिलमा घोडेपानीबाट ग्यालिन, बोतल र ड्रममा बोकेर पानी लैजाने गरिएको छ । एक घण्टा लगाएर उकालोमा पानी बोकेर लैजानुपर्ने भएकाले पुनहिलमा तातोपानी, चिया, कफीको मूल्य बढी तिर्नुपरेको पर्यटकले गुनासो गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पुनहिलको जग्गा गाउँपालिकाको नाममा नभएकाले यहाँ मिटरबक्स राख्न समस्या भएको बताए । पुनहिल र तातोपानी कुण्डलगायत पर्यटकीयस्थलमा विद्युत् आपूर्तिका लागि एकै पटक पाँच वटा मिटरबक्स खरिद गर्न लागिएको उनले बताए ।

चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न सकिने पुनहिलमा यहाँ वार्षिक ३० हजारको अनुपातमा विदेशी र त्योभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गर्छन् ।

पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति ५० रुपैयाँ र विदेशीले १५० रुपैयाँका दरले प्रवेश शुल्क तिर्नुपर्छ । चालु आर्थिक वर्षमा पुनहिल प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि गाउँपालिकाले ४० लाख रुपैयाँमा ठेक्का लगाएको छ ।


प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?