Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा


१८ ,श्रावण ,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् ।

पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका पाँच सय २३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताए । नगर उपप्रमुख राईले वडा नं १ दिक्तेलका १००, वडा नं २ सोल्माका ५०, वडा नं ३ बाम्राङका ५०, वडा नं ४ खाल्लेका ३०, वडा नं ५ लफ्याङका ३०, वडा नं ६ नेर्पाका १००, वडा नं ७ दोर्पाचिउरीडाँडाका ५०, वडा नं ९ निर्मलीडाँडाका ३०, वडा नं १३ नुनथलाका ३०, वडा नं १४ बुइपाका ३० र वडा नंं १५ विजयखर्कका ५० जना किसानलाई नेपियर र अम्लिसो जातका घाँसको बिरुवा निःशुल्क वितरण गरेका छन् ।

वडा नं ८ दोर्पाचिउरीडाँडा र वडा नं ९ निर्मलीडाँडाबाट खरिद गरेर ल्याइएको सुपर नेपियर, स्मार्ट नेपियर, रेड नेपियर र बङ्गाली रेड नेपियर तथा वडा नं ३ बाम्राङबाट खरिद गरिएको अम्लिसो जातको घाँसका बिरुवा निःशुल्क वितरण गरिएको नगर उपप्रमुख राईले जानकारी दिए । पशुपालनलाई व्यावसायिक बनाउन नगरपालिकाबाट यस आवका लागि रु एक करोड बजेटसमेत विनियोजना गरिएको नगर उपप्रमुख राईले बताए । “निर्वाहमुखी पशुपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन यो वर्ष भैँसी र बाख्रामा अनुदान दिने योजना बनाएका छौँ । पशुपालनमा लगानी गरेर मासु र दूधजन्य पदार्थमा नगरपालिकालाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य छ”, उहाँले भने, “व्यावसायिक पशुपालनका लागि सम्भाव्यता अध्ययनसँगै किसानसँग भेटघाट गर्दै आफ्नै खर्चमा खरिद गरेर उन्नत जातको घाँसको बिरुवा निःशुल्क वितरण गरेको हुँ । यसले कृषकसमेत उत्साहित भएका छन् ।”

पशुपालन तथा व्यावसायिक कृषिका लागि नगरपालिकाले यस आवमा ब्याज अनुदानस्वरुप किसानलाई रु चार करोड रकम उपलब्ध गराउने गरी पहल थालेको जनाइएको छ । जिल्लास्थित विभिन्न बैंकसँगको सहकार्यमा नगरपालिकाले ब्याज तिरिदिने सर्तसहित नगरपालिका नै जमानी बसेर रकम उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । पन्ध्र वडा रहेको यस नगरपालिकाले पशु तथा कृषि व्यवसायका लागि पकेट क्षेत्र निर्धारण गर्ने तयारी गरेको छ ।

‘एक वडा, एक उत्पादन’ कार्यक्रम बनाएर लागू गर्ने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ । कृषि उत्पादनलाई जोड दिने नीति लिएको नगरपालिकाले पशुपालनसँगै फलफूलका बिरुवा वितरण तथा विभिन्न नगदे बालीमा अनुदान दिँदै आएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको यस नगरपालिकामा अनुदान पाएका कतिपय कृषक व्यावसायिक भएका छन् भने कतिपयले काम नै नगरी अनुदान मात्र लिएको गुनासो आउने गरेको छ ।

दश स्थानीय तह रहेको जिल्लामा कृषकको आम्दानी वृद्धिका लागि सबैले व्यावसायिक कृषि प्रणालीमा जोड दिएका छन् । जिल्लाका कतिपय स्थानीय तहले कृषि उत्पादनलाई आफ्नै क्षेत्रमा प्रशोधन गरेर बजारीकरण गर्नेसम्मको योजना बनाएका छन् ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?