Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान


१७ श्रावण, चितवन । चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले बताए । उनका अनुसार प्रदेश सरकारबाट प्राप्त खोपलाई सातै पालिकामा वितरण गरी पशुलाई लगाइन्छ । प्रदेश सरकारले १३ जिल्लामा नै अभियानका रुपमा लम्पी स्किन विरुद्धको खोप लगाउन लागेको उनले जानकारी दिए ।

अभियानका लागि २२ गतेसम्म खोप जिल्लामा आइपुग्ने आचार्यले बताए । उनले भने, “अहिले पाँच हजार डोज खोप आउने अनुमान गरेका छौँ ।” प्रदेश सरकारले अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गरेको हुँदा पछि पुनः थप हुन सक्ने उनले बताए । सातै पालिकामा पालिएका गाईभैँसीमा यो खोप लगाइने छ । रोग लागिसकेका, गोठमा रोग देखिएका पशुहरुलाई खोप नलगाइने उनले जानकारी दिए । उनले थपे, “स्वस्थ पशुलाई खोप लगाइन्छ ।” जिल्लाका पालिकाहरुको सक्रियतामा खोप लगाइँदै आइएको छ । यसलाई सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

जिल्लामा हालसम्म १८ हजार पाँच सय ९० पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । भरतपुर महानगरपालिकामा तीन हजार सात सय ९०, खैरहनी नगरपालिकामा तीन सय, राप्ती नगरपालिकामा ६ हजार र रत्ननगरमा आठ हजार पाँच सय पशुमा खोप लगाइएको उनले जानकारी दिए । जिल्लामा हालसम्म ११ हजार एक सय ८५ गाईभैँसीमा यो रोग देखिएको छ । कार्यालयका तथ्याङ्कअनुसार हालसम्म दुई सय ८७ गाई लम्पी स्किनबाट मरिसकेका छन् ।

गर्मी याममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप देखिने गरेको आचार्यले जानकारी दिनुभयो । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने र लिम्फनोड सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्छ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?