Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की


१६ ,श्रावण ,पाटन । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुनसक्ने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आज ललितपुरमा आयोजित ३१ औँ प्रकाश स्मृति दिवस तथा २९ औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रममा उनले भने, “स्वतन्त्र, सक्षम, निष्पक्ष र उत्तरदायी न्यायपालिकासहितको संवैधानिक व्यवस्था छ, न्यायालय राजनीतिक हस्तक्षेप, आर्थिक प्रलोभन, राज्यको हस्तक्षेप, दबाब र प्रभावबाट मुक्त हुनुपर्छ, त्यसो हुन सकेन भने निष्पक्ष न्याय प्रदान हुन सक्दैन ।”

उनका अनुसार निष्पक्ष न्याय हुन नसके मानवअधिकारको संरक्षण पनि हुन सक्दैन । “न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुनसक्छ । मानवअधिकारको एउटा अभियानका रूपमा न्यायपालिका स्वतन्त्र र निष्पक्ष बनाउनुपर्छ”, उनले भने ।

फौजदारी न्याय प्रशासनमा पीडितको संरक्षणसम्बन्धी कानून पनि ल्याएको तर पीडित र पीडितका साक्षीको संरक्षण नहुँदा प्रतिकूल बकपत्र दिने गरेका कारण पनि अदालतलाई न्याय निरुपण गर्न समस्या परिरहेको बताउँदै प्रधानन्यायाधीश कार्कीले यस खालको अवस्थाबाट वास्तविक न्याय निरुपण नहुन सक्ने र समाजमा अस्थिरता मौलाउने धारणा राखे ।

न्यायमा पहुँच पुर्याउन भएका अवरोधमा ध्यान दिन कार्कीले मानवअधिकारकर्मीलाई आग्रह गर्नुभयो । पूर्वसभामुख दमननाथ ढङ्गानाले स्वतन्त्र र गैरराजनीतिक संस्था भनेको न्यायालय नै भएको भनाइ राख्दै मानवअधिकार र लोकतन्त्रको संरक्षणका लागि यसलाई निष्पक्ष र स्वतन्त्र राख्नुपर्ने बताए । “स्वतन्त्र र गैरराजनीतिक संस्था भनेको न्यायालय नै हो र यसलाई निष्पक्ष र स्वतन्त्र राख्नुपर्छ । तब मात्रै मानवअधिकारको संरक्षण हुनसक्छ । संविधानसभाबाट बनेको वर्तमान संविधानले संविधानसभाको मर्मलाई छुन सकेन, निर्वाचन पद्धति सुधार गर्न सकेन, यो संविधान संशोधन गर्न सकेनौँ भने भ्रष्टाचार मौलाउँछ, मानवअधिकार कमजोर हुन्छ । व्यवस्था विकृत हुन्छ । मानवअधिकार हनन हुँदै जान्छ”, पूर्वसभामुख ढुङ्गानाले भने ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले मानवअधिकार र सङ्क्रमणकालीन न्यायका विषयमा अङ्ग्रेजीमा रूपान्तरण गरेर व्याख्या गर्न नसक्दा अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो अदालतका नजीर स्थापित हुन नसकेको बताए । उनले सक्षम न्याय प्रणाली भए पनि न्यायालय सक्रिय भएर काम नगरेसम्म मानवअधिकारको रक्षा हुन सक्दैन भन्दै न्याय, मानवअधिकार र लोकतन्त्र एक अर्कामा जोडिएको बताए ।

इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले मानवअधिकार आन्दोलनलाई परिष्कृत गरेर जानु आवश्यक भएको भन्दै आम नागरिकमा न्यायको पहुँच पुर्याउन नसक्नु पनि गम्भीर विषय भएको धारणा राखे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले यस वर्षको प्रकाश मानवअधिकार पुरस्कार कपिलवस्तुकी रुकय्या खातुनलाई प्रदान गरेको हो । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?