Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएका धान सुक्दै


१५ श्रावण, महोत्तरी । महोत्तरी जिल्लामा यसपालि समयमा वर्षा नहुँदा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपटक मनसुनी वर्षानहुँदा र किसानले समयमै ब्याड राख्न नपाउँदा कम रोपाइँ भएको हो । साउन महिनाको दोस्रो साता बित्न लाग्दा पनि जिल्लामा यथेष्ट पानी परेको छैन । यहाँका किसानले स्यालो ट्युवबेल, डिप ट्युवबेल र मोटरको पानी प्रयोग गरेर महँगो खर्च गरेर जेनतेन ४० प्रतिशत खेत रोपाइँ गरेका छन् ।

उहाँले जिल्लाको कूल धान खेतीयोग्य जग्गा ४५ हजार हेक्टर रहेकोमा अहिलेसम्म मात्र नौ हजार नौ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको जानकारी दिनुभयो । पानी नै नपरेका कारण किसानले महँगो मूल्यमा सिँचाइ गरेर रोपेका धानका बिरुवा पनि अहिले सुक्न थालेको जलेश्वर नगरपालिका –८ का किसान विपेन्द्र पाण्डले गुनासो गरे । उनले आफ्नो खेतमा लगाएको धानका बिरुवा सुक्न थालेको र खेतभरि धाँजोसमेत फाटेको बताए ।

अर्का किसान रामु मण्डलले आफ्ना धानका बिरुवा ब्याडमै सुकिरहेको बताए । जलेश्वरकै छिमेकी गाउँपालिका एकडारा–४ का किसान उपेन्द्र यादवले आफ्नो गाउँभरि नै यसपालि रोपाइँ हुन नसकेको र रोपेको धान पनि अहिले सुकिरहेको बताए ।

रामगोपालपुर नगरपालिका–५ का किसान प्रमोद मण्डलले पानी नपर्दा यसपालि रोपाइँ गर्न नपाएको गुनासो गरे । जिल्लामा सिँचाइ पुगेको जग्गा २१ हजार हेक्टर मात्रै रहेको छ र अन्य जग्गामा अहिले पनि आकाशे पानीकै भरमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रले यसपालि जिल्लामा धान उत्पादनमा ह्रास आउने अनुमानसमेत गरेको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?