Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

मुस्ताङ घुम्ने पर्यटकको संख्या ४५ प्रतिशतले बढ्यो


८ श्रावण, मुस्ताङ । मुस्ताङ घुम्ने पर्यटकको संख्या ४५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आव २०७९/८० मा मुस्ताङमा ४.७५ प्रतिशत बढी पर्यटक भ्रमणमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।

एक्याप जोमसोमका प्रमुख अशोक सुवेदीले आव २०७९/८० मा कुल ७१ हजार ७०७ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जानकारी दिए । ‘यो संख्या कोभिडअघि र पछिको पर्यटकीय तथ्यांकमा अहिलेसम्मकै उच्च वृद्धि हो,’ उनले भने, ‘आव २०७८/७९ मा कुल ३८ हजार ८९६ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।’

अघिल्लो आवको तुलनामा ३२ हजार ८११ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन् । आर्थिक वर्ष २०७९/८० मा सार्क देशका ५९ हजार ३१० र तेस्रो मुलुकका ६ हजार ७४९ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

अघिल्लो वर्ष सार्क देशका ३६ हजार १५३ जना र तेस्रो देशका २ हजार ७४३ जनाले मुस्ताङ भ्रमण गरेका थिए ।

तीमध्ये ५ हजार ६४८ जना अन्नपूर्ण चक्रीय पदमार्गको थोराङ्ला झञ्याङ पारेर गरेर मनाङ हुँदै मुस्ताङ आएका हुन् । थोराङ पास गरेर मुस्ताङ आएका ५६० जना सार्क मुलुक र ५ हजार ८८ जना तेस्रो मुलुकका छन् ।

अघिल्लो वर्षको तुलनामा अन्नपूर्ण चक्रीय पदमार्ग भएर मुस्ताङ भित्रिने पर्यटकको संख्या ८७ प्रतिशतले बढेको छ । आव २०७८/७९ मा ५ हजार ६४८ जना थिए । वैशाखमा सबैभन्दा बढी १६ हजार १३७ र कम माघमा ६२० पर्यटक आएका थिए ।

अर्ध निषेधित क्षेत्रका रूपमा रहेको उपल्लो मुस्ताङमा ३ हजार ३८८ पर्यटक पुगेका छन् । गत वर्ष अनुकूल मौसम, विपद् नभएको, सडक यातायातको सहज पहुँच, होटल तथा लजको सुविधा हुन थालेपछि मुस्ताङमा पर्यटक आगमन बढेको एक्याप जोमसोमका प्रमुख सुवेदीले बताए ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?