Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

यो वर्षभित्र देशभरिका सबै विद्यालयमा इन्टरनेट पुर्याइन्छ : सञ्चारमन्त्री शर्मा


६ श्रावण, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने तयारी गरिएको बताएकी छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, प्रदेश मधेशले बाराको सिमरामा आयोजना गरेको टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी छलफललाई सम्बोधन गर्दै उनले शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट पुर्याउने तयारी गरिएको बताइन् । धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगेको र बाँकी विद्यालय तथा सबै वडासम्म चालु आर्थिक वर्षभित्र इन्टरनेट पुर्याउने गरी तयारी गरिएको उनले बताइन् ।

आफूले मन्त्रीको पद वहाली गर्दा राजमार्गलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने पहिलो निर्णय गरेको जानकारी दिंदै मन्त्री शर्माले यो निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताइन् । चालु आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चानयुक्त जिल्ला बनाउने सरकारले निर्णय गरिसकेकाले यो निर्णय प्रभावकारीरुपमा कार्यान्वयन गर्न उनले नेपाल टेलिकमलाई आग्रह गरिन् ।

पूर्वाधार निर्माणका क्रममा सरकारी नियकायबिच समन्वय नहुँदा समस्या आउने गरेको उल्लेख गर्दै उनले सडक, खानेपानी, विद्युत, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गरिन् । जंगल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा समस्या भएको गुनासो आएको वन मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको पनि मन्त्री शर्माले जानकारी दिइन् ।

उनले जहाँ बढी समस्या छ, त्यहाँ बढी सेवा दिनुपर्ने मान्यताका समस्या पहिचान गरी समाधानको खोजी गर्न मधेश प्रदेशबाट दूरसञ्चारको समस्या समाधानका लागि सुझाव संकलन अभियान सुरु गरिएको जानकारी दिइन् । मधेश प्रदेशका बासिन्दाले देशको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको उल्लेख गर्दै उनले देशकै सबैभन्दा धेरै जनसंख्या रहेको मधेश प्रदेशमा नेपाल टेलिकमले सेवाग्राही विस्तारका लागि प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं नेपाल टेलिकमका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्यहरु किसन श्रेष्ठ र ज्वालाकुमारी साह, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायतले बोलेका थिए ।

कार्यक्रममा बारा, पर्सा, रौटहट र सर्लाहीका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो क्षेत्रमा भएको टेलिकमको सेवा सुविधाबारे जानकारी गराउँदै सुधारका लागि सुझाव दिएका थिए । शुक्रवार मधेश प्रदेशका पूर्वी क्षेत्रमा रहेका चार जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीका जनप्रतिनिधिसँग टेलिकमका सेवा सुविधाबारे जनकपुरमा छलफल गरिएको थियो ।

मर्मत संभारलाई विशेष सेवाको रुपमा विकास गर्ने टेलिकमको प्रतिबद्धता

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०।८१ मा मर्मत संभार कार्यलाई विशेष सेवाको रुपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरु तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए । उनले मधेश प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र विभिन्न स्थानबाट एफटीटीएच वितरण गरिरहेको जानकारी दिए । मधेश प्रदेशमा जनसंख्या धेरै भएको र यसको अनुपातमा कम्पनीका प्रयोगकर्ता समेत बढाउनका लागि आवश्यक सहकार्य गर्न उनले आग्रह गरे ।

नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय मधेश प्रदेशका निर्देशक अमुल प्रधानले कम्पनीले सो प्रदेशमा उपलब्ध गराइरहेको सेवा वारेमा जानकारी प्रदान गर्दै सेवा प्रयोग बढाउनका लागि सहकार्य गर्न आग्रह गरे । सो अवसरमा कम्पनीले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुको वारेमा उप–प्रबन्ध नवल चौधरी, कम्पनीका सेवाहरु विदेशमा समेत प्रयोग गर्न सकिने रोमिङ सेवाको वारेमा उप–प्रबन्धक समिर बहादुर श्रेष्ठ र मधेश प्रदेशमा नेपाल टेलिकमको सेवाको अवस्था वारेमा उप–प्रबन्धक निरञ्जन घिमिरेले प्रस्तुतिकरण गरेका थिए ।

अन्तरक्रियाको अवसरमा उठेका विभिन्न जिज्ञासाहरुको वारेमा कम्पनीका प्रमुख व्यवसायिक तथा प्राविधिक अधिकृत संगीता पहाडी, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, वायरलेस सेवा निर्देशनालय निर्देशक मिनु प्रधान र प्रादेशिक निर्देशनालय, मधेश प्रदेशका निर्देशक अमुल प्रधानले जवाफ दिएका थिए ।


प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?