Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

पदयात्रा पर्यटनसँग जोडिदै कफुचे हिमताल


२४ असार, कास्की । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ । पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारको प्राथमिकतामा यहाँको पदमार्गले स्थान पाउन थालेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको यो ताललाई नेपालको सबैभन्दा कम उचाइमा रहेको हिमतालका रुपमा समेत लिने गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला समयमा पर्यटकको रोजाइमा पर्न थालेसँगै स्थानीय तहले पनि यसको प्रवद्र्धन र विकासलाई प्राथमिकतामा राखेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङग गुरुङले बताए ।

“कफुचे हिमताल मादी गाउँपालिकाको मात्र नभइ दशेकै गौरव हो, यसको प्रवद्र्धन र विकास गरेर आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ”, उनले भने ।

पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण नेपालकै ठूलो गुरुङ गाउँ सिक्लेसबाट एकदिनको पदयात्रामा यसस्थानमा पुग्न सकिन्छ । यहाँको विकास तीनवटै सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले सङ्घबाट पोखरा सिक्लेस, ताङतिङ हुँदै मनाङ जोड्ने पदमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने तयारी गरेको उनले बताए ।

गण्डकी प्रदेश सरकारले मादी गाउँपालिका–७ को थाकबाट ताराहिल टप हुँदै कफुचेसम्मको पदमार्गका लागि २५ लाख विनियोजन गरेको उनले बताए । त्यस्तै प्रदेशबाटै सिक्लेस कफुचे पदमार्गका लागि पाचँ लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले अघिल्लो वर्षदेखि नै सिक्लेसबाट कफुचेसम्मका लागि ५० प्रतिशत अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको थियो । यसको कार्यविधि पनि तयार भइसकेको र आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

अन्नपूर्ण दोस्रो र चौँथो हिमालको बीचबाट आएको हिमपहिरो पग्लिएर बनेको यो ताल लगभग एक हजार दुई सय वर्गमिटरमा फैलिएको छ । उक्त क्षेत्रमा पहिले पहिले विभिन्न भेडी गोठ रहे पनि अहिले भने छैनन् ।

कफुचे नामाकरण सम्बन्धमा स्थानीयवासीको भिन्नाभिन्नै तर्क छ । स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ भनेको पग्लनु र ‘चे’ भनेको समथर ताल हो । हिउँ पग्लेर बनेको हुनाले यस ताललाई ‘कफुचे’ भन्ने गरिएको बताइन्छ ।

स्थानीयवासीका अनुसार करिब डेढ दशकअघिसम्म हिउँको थुप्रो रहेको सो स्थानबाट नै आवतजावत गर्न सकिन्थ्यो । पछिल्ला समयमा बर्सेनि बढ्दै गएको जलवायु परिवर्तनको असरका कारण हिउँ पग्लेर ताल बनेको स्थानीयवासी बताउँछन् ।

सिक्लेस–कफुचे मार्गमा पर्ने हुँगु यस क्षेत्रको प्राचीन भेडी गोठ रहने क्षेत्र हो । कफुचेको यात्राका क्रममा सिक्लेसबाट राम्रो हिँड्न सक्नेहरू लगभग साढे तीन घण्टामा हुँगु पुग्न सक्छन् । हिँड्न नसक्नेका लागि भने चारदेखि पाँच घण्टासम्म लाग्ने गर्दछ । हुँगु पुगेका पर्यटक हिँड्न सक्ने एक घण्टामा कफुचे पुगे पनि नसक्नेका लागि डेढ दुई घण्टासम्म लाग्ने गर्दछ ।

पछिल्ला समयमा जथाभावी बाटो खन्ने क्रमसँगै पदमार्ग हराउँदै गएका अवस्थामा सिक्लेस—कफुचेलाई नयाँ पदमार्गका रुपमा विकास गर्न सकिने ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले बताए । त्यस क्षेत्रमा सन् २००७/८ सिक्लेस हुँदै नामुन पास भएर तिमाङ पदमार्गको टानले प्रवद्र्धन गरेको बताउँदै अध्यक्ष पन्थीले मादी गाउँपालिकाको याङजाकोटबाट दूधपोखरी हुँदै क्होलासोँथर निस्कने पदमार्गको प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखिएको बताए ।

“कफुचे ताललाई पदयात्रा पर्यटनसँग जोड्न सकेमा यहाँ ठूलो सङ्ख्यामा स्वदेशी एवम् विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ”, उनले भने, “पदमार्ग क्षेत्रको प्रवद्र्धन , विकास सँगै पर्यटक लक्षित पूर्वाधार विकासमा तीनवटै तहको साथ र सहयोग आवश्यक छ ।”


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?