Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

बाढीको जोखिममा मनाङको तिल्चे बस्ती


२४ असार, मनाङ । हिमाली जिल्ला मनाङमा १ असार २०७८ मा भएको भारी वर्षा इतिहासमै पहिलो घटना बनेको छ । त्यसयता भएको वर्षात् मनाङवासीका लागि अविस्मरणीय छ । वर्षातका कारण विभिन्न क्षेत्रमा ठूलो बाढीपहिरो जान गएकाले मनाङमा क्षति पुग्यो ।

वर्षातपछि मर्स्याङ्दी नदीसँगै यहाँका खोला, खोल्सीमा आएको बाढीले पनि धेरै क्षति पुर्‍यायो । दूधखोलामा आएको बाढीले नासोँ गाउँपालिका–६ र ७ स्थित तिल्चे गाउँको वस्ती जोखिममा पर्‍यो ।

दुई वर्ष पूरा भइसक्दा पनि यहाँको वस्ती अझै जोखिममा नै रहेको छ । अझ वर्षायाम सुरुआत भएपछि पानी पर्दा यहाँको वस्ती अझै जोखिममा पुग्ने स्थानीयवासीको गुनासो छ ।

वस्ती संरक्षणका लागि तटबन्ध निर्माण गरी केही मात्रामा जोखिम न्यूनीकरण गरिए पनि अझ बलियो र सुरक्षित बनाउन बजेट अभाव रहेको स्थानीयवासीको भनाइ छ । यस वस्तीलाई सुरक्षित बनाउन संघीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गण्डकी प्रदेश र खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको विशेष भूमिका रहेकाले अझै थप सुरक्षित बनाउन पहल गरिदिन स्थानीयवासीले माग गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा दूध खोला नियन्त्रण योजनाका लागि बजेट विनियोजन नभए पनि व्यवस्थापन गर्ने प्रयासमा रहेको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख ढाकारामा आचार्य बताउँछन् । ‘यस क्षेत्र दूधखोलाको जोखिममा रहेकाले समन्वयमा लागिरहेका छौँ’, उनले भने, ‘खोला तथा नदी नियन्त्रण कार्यलाई निरन्तरता दिनेछौँ ।’

चालू आर्थिक वर्षमा उक्त वस्तीको जोखिम न्यूनीकरणका लागि तटबन्ध गरिएको छ, तर बजेटको अभावमा कामलाई पूर्णता दिन सकिएको छैन । नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ तिल्चेवासीको सुरक्षाका लागि बजेट उपलब्ध गराउन पहल गरिरहेको बताउँछन् । ‘बजेट अभाव भए पनि यस क्षेत्रलाई सुरक्षित बनाउन आवश्यक छ, आगामी आर्थिक वर्षमा यस क्षेत्रका लागि प्रदेश सरकारबाट बजेट परेको छैन तर समन्वय र सहकार्य गरेर पनि सुरक्षित बनाउने प्रयासमा छौँ’, उनले भने ।

गाउँपालिकाको बजेट कम हुँदा आफ्नै बजेटबाट यहाँको सुरक्षाका लागि काम गर्न सम्भव नभएको अध्यक्ष गुरुङको भनाइ छ । तिल्चेवासी वर्षायाममा पानी पर्न थालेपछि विगतमा झैँ खोलामा बाढी आएर वस्ती नै लैजाने हो कि भनेर तर्सिने गरेकाले यस क्षेत्रलाई सुरक्षित बनाउन प्रदेश सरकार र सङ्घीय सरकारबाट सहयोगका लागि अपिल गरिहाल्नुपर्ने अवस्था रहेको स्थानीयवासी बताउँछन् ।

पानी पर्न थालेपछि रातभर पनि निन्द्रा नलाग्ने गरेको उनीहरूको भनाइ छ । यहाँको समस्याको समाधान प्रदेश सरकार र सङ्घ सरकारले मात्रै गर्न सक्ने भएकाले गुहार्नुपरेको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?