Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

विकासले फेरियो कुस्मिसेराको मुहार


२४ असार, बागलुङ ।  तीन वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारको बीच सडकबाट सिँचाइको कुलो बग्दथ्यो । सडकमा नाली नहुँदा सिचाँइका लागिसमेत बजारको बीच सडक नै प्रयोग गर्ने अवस्थाले बजारको शौन्दर्यतालाई गिज्याउँथ्यो ।

यस क्षेत्रमा उर्भर खेतीयोग्य जमिन भए पनि सङ्घीयता आएसँगै जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा भइसकेपछि अहिले यहाँ तीव्र सहरीकरण भइरहेको छ । ‘अन्नको भण्डार’का रुपमा रहेको उक्त खेतको फाँटमा पक्की भवन धमाधम निर्माण भए पनि बजारको सडक भने सुधार हुन सकेको थिएन ।

बर्खामा बजारभित्रकै सडक हिलाम्मे र हिउँदामा धुलाम्मे हुने अवस्थाको यही वर्षदेखि अन्त्य भएको छ । यही वर्ष बजार क्षेत्रको सबै सडक कालोपत्र र ढलान सम्पन्न भइसकेको जैमिनी नगरपालिकाले जानकारी दिएको छ ।

कुश्मिसेरा बजारमा तीन वर्षदेखि थालिएको सडक ढलान र कालोपत्र सकिएपछि बजारको मुहार फेरिएको स्थानीय पुनेन्द्र सापकोटाले बताए । “चार वर्षअघिसम्म सडकमा नालीसमेत थिएन, बजार मात्रै भएर के गर्ने ? बर्खामा सडकबाटै सिँचाइका लागि कुलो लैजानु पर्दथ्यो”, उनले भने, “पछिल्लो तीन वर्षयता कुस्मिसेरा बजार परिवर्तन भएको छ, अहिले एकातर्फ सडकको नाली र अर्कोतर्फ सिँचाइको लागि प्रयोग गर्ने नाली बनाइएको छ । कालोपत्र र ढलानले सडकका खल्डाखुल्डी सबै पुरिएका छन् ।”

बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण व्यवसायी तथा यात्रुलाई सास्ती भएकामा अब भने सहज हुने समपकोटाको भनाइ थियो । अहिले कुस्मिसेराका भिरालो स्थानमा ढलान र समथर सडकमा कालोपत्र गर्दा यात्रुलाई सहज हुनुका साथै शौन्दर्यकरण थप भएको उनले बताए ।

कुस्मिसेरा बजारमा छ सय ६० मिटर सडक कालोपत्र गरिएको र एक किमी सडक ढलान गरिएको नगरपालिकाका इञ्जिनियर विवेक सापकोटाले जानकारी दिए । “पालिकाको केन्द्र सुधार हुन आवश्यक थियो । अहिले मुख्य सडकमा कालोपत्र र ढलान भएको छ, केही शाखा सडक बाँकी छन्”, उनले भने, “कालोपत्रभन्दा ढलान सडक धेरै खर्चिलो र पक्का हुने भएकाले ढलान सडक लामो समयसम्म टिक्ने अपेक्षा छ ।”

इञ्जिनियर सापकोटाका अनुसार रू एक करोड ९७ लाखमा कुस्मिसेरा बजारको सडक पक्की बनाइएको हो । जसमध्ये चालु आर्थिक वर्षमा पाँच सय मिटर सडक ढलान र एक सय ३० मिटर सडक कालोपत्र गरिएको छ ।

कुस्मिसेरा बजारको सबै सडक कालोपत्र र ढलान गरिएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । “कुस्मिसेरा बजारको मुख्य क्षेत्रमा कालोपत्र तथा ढलान  सम्पन्न भएको छ । यसले बजार क्षेत्रको शौन्दर्यकरण गरेको छ”, उनले भने ।

सहरी विकास मन्त्रालयबाट गत वर्ष रू ४५ लाख र चालु आर्थिक वर्षमा रू ९७ लाख बजेट विनियोजना भएको जनाउँदै उनले नगरपालिकाको तिरन्तर पहलकदमीबाट पक्की सडक निर्माण सम्पन्न भएको उपप्रमुख शर्माले बताए । उनका अनुसार बाँकी रकम नगरपालिकाले छुट्याएको थियो । “अब नगरपालिकाको ध्यान वडास्तरीय सडक सुधारमा हुनेछ”, उनले भने ।

उपप्रमुख शर्माका अनुसार बागलुङ बजार बाट कुस्मिसेरा पुग्न दुई किलोमिटर सडक मात्रै कच्ची रहेको छ । सडक कालोपत्र भएपछि एक घण्टामै बागलुङ बजारबाट कुस्मिसेरा पुग्न सकिने भएपछि स्थानीय खुसी भएका छन् ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?