Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

साल्पासिलिछोमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा


२४ असार, भोजपुर । भोजपुरको दुर्गम मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकामा पहिलोपटक अत्याधुनिक प्रयोगशालासहितको विशेषज्ञ स्वास्थ्य सेवा सुरुआत भएको छ । वर्षौँदेखि स्वास्थ्य उपचारको समस्या झेल्दै आएका यहाँका स्थानीयलाई सहजता थप्ने लक्ष्यले गाउँपालिकाले मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवाको सुरुआत गरेको हो ।

स्थानीयलाई सहज स्वास्थ्य सेवा दिलाउनका लागि आधारभूत स्वास्थ्य अस्पतालमा दरबन्दी कामय गरी वडा नं २ कुलुङमा मेडिकल अधिकृत डा महमत बचरुदिन अन्सारीलाई खटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए ।

“साल्पासिलिछो गाउँपालिकामा पहिलोपटक मेडिकल अधिकृतको स्वास्थ्य सहित आधुनिक स्वास्थ्य प्रयोगशाला स्थापना गर्न सफल भएका छौँ”, उनले भने, “खास गरेर यहाँका नागरिकले भोग्दै आएको स्वास्थ्योपचारको समस्यालाई ध्यानमा राखेर अथक प्रयासपछि सहज सेवा दिन सफल भएका छौँ । यहाँका नागरिकलाई मेडिकल अधिकृतबाट सेवा लिने अवसर मिलेको छ ।”

यो गाउँपालिकाकामा हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने भएकाले यहाँको जनजीवन निकै कष्टकर हुने गरेको छ । सहज यातयात नहुँदा यहाँका दुर्गम क्षेत्रका नागरिकलाई दुईदेखि तीन दिनसम्म स्टेचर तथा डोकोमा बोकेर नजिक मानिने खाँदबारी अस्पताल लैजाने अवस्था रहेको छ । विशेषज्ञ चिकित्सकसहितको आधुनिक प्रयोगशाला स्थापनाले सहजता भएको स्थानीयवासी कृष्णबहादुर तामाङले बताए ।

“विगतमा स्वास्थ्योपचारका लागि निकै समस्या भोग्नुपरेको अवस्था थियो”, उनले भने, “बोकेर उपचारका लागि लैजाँदा कतिपयको बाटोमै अकालमा ज्यान गुमाएको अवस्था पनि छ । चिकित्सकसहितको आधुनिक स्वास्थ्य सेवा पाउँदा धेरै खुसी लागेको छ । अब उपचार नपाएर मर्नुपर्ने अवस्था छैन । हामी धेरै खुसी छौँ ।”

स्थानीय नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा दिने लक्ष्यले विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य सेवा सुरुआत गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । स्वास्थ्य सुविधायुक्त उक्त प्रयोगशालाले गाउँपालिकावासीलाई स्वास्थ्य सेवा दिन सहज हुने उनको भनाइ छ । फार्मेसी सेवा सुरु हुने अध्यक्ष कुलुङको भनाइ छ । यहाँ एम्बुलेन्स सेवा विस्तार गर्दै शव परीक्षण र एक्स–रे सेवा पनि तत्कालै सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष कुलुङले बताए ।

“यो हाम्रो स्थानीय तह भौगोलिकरूपमा निकै विकट छ”, उनले भने, “नागरिकको सबैभन्दा ठूलो समस्या भनेको नै स्वास्थ्योपचार हो । सामन्य स्वास्थ्योपचार लिन बाहिरका अस्पताल जानुपर्ने अवस्था छ । नागरिकले भोग्दै आएका समस्याको अन्त्य गर्न निकै मेहनतपछि विशेषज्ञसहितको प्रयोगशला सञ्चालन गर्न सफल भएको छौँ । यो गाउँपालिकावासीको लागि निकै खुसीको कुरा हो ।”

आगामी दिनमा प्रयोगशालालाई थप व्यवस्थित बनाउँदै लैजाने अध्यक्ष कुलुङको भनाइ छ । गाउँपालिकामा ११ वटा अक्सिजन सिलिन्डर र करिब छवटा अक्सिजन कन्सन्ट्रेटर रहेको उहाँको भनाइ छ । आवश्यक पर्ने अन्य सुविधा थप्ने लक्ष्य रहेको अध्यक्ष कुलुङले बताए । “यहाँ अझै सेवा सुविधा थप्ने हाम्रो उद्देश्य छ”, उनले भने, “नागरिकलाई स्वास्थ्योउपचारका लागि बाहिर जानु नपरोस् भन्ने लक्ष्य लिएका छौँ ।”

यो आर्थिक वर्षमा गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित रहेका यहाँका दुर्गम तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सडकसम्म विस्तार नभएको ओखरबोटे र याङ्माका स्थानीयलाई लक्षित गरेर वडा नं ६ याङमा र थुम्लुङ भन्ने स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेको छ । त्यस्तै वडा नं ३ को तालखर्कमा पनि स्वास्थ्य एकाइ स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले बताइन् । एकाइ स्थापना गरेर तीनवटै स्थानबाट सेवा प्रवाह भइरहेको उनको भनाइ छ ।

सामन्य स्वास्थ्य सेवा लिन भोजपुुर सङ्खुवासभाको खाँदबारी तथा तराईका जिल्लामा जानुपर्ने बाध्यताको अन्त्य भएको वडाध्यक्ष गणेश खत्रीले जानकारी दिए ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?