Trending
>>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइयो


२४ असार ,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ । तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली अव्यवहारिक भएको जनाउँदै जिल्लास्थित शिक्षक सङ्घ–सङ्गठन विरोध गर्दै आएका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा शनिबार भएको छलफलका क्रममा नगर कार्यपालिकाको आगामी बैठकबाट नगर शिक्षा नियमावली, २०७६ को नियम २७ (ङ)लाई निष्क्रिय गर्ने, आगामी नगरसभाबाट शिक्षा नियमावली संशोधन गर्ने, शैक्षिक सुधारका कार्यहरूलाई निरन्तर अगाडि बढाउने, शिक्षकहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने र नगरपालिका र शिक्षक सङ्घ–सङ्गठनबीच भएको सम्झौतालाई पूर्णरूपमा पालना गर्ने सहमति भएको छ ।

नगरपालिकासँग भएको सहमतिपछि आफूहरूको आन्दोलनसमेत फिर्ता भएको शिक्षकले बताएका छन् । छलफलमा नगरप्रमुख भट्टराई, उपप्रमुख विशन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, वडा नं १ का वडाध्यक्ष नवराज राई, वडा नं ५ का वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेश घिमिरे, शिक्षा शाखा प्रमुख तीर्थबहादुर विश्वकर्मा, नेपाल शिक्षक सङ्घका सङ्घीय सदस्य शिवहरि ढकाल, नेपाल शिक्षक महासङ्घ खोटाङका अध्यक्ष मीनबहादुर दाहाल, नेपाल शिक्षक महासङ्घ खोटाङका सहअध्यक्ष झमप्रसाद आचार्य, नेपाल शिक्षक सङ्घका उपाध्यक्ष मुना चौलागाईँ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष टङ्क कटुवाल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका उपाध्यक्ष नूरकाजी सैँजू, नेपाल शिक्षक महासङ्घ नगर अध्यक्ष यादवप्रसाद घिमिरे, नेपाल शिक्षक सङ्घ नगर अध्यक्ष नवराज केसी, प्राविधिक सहायक प्रेम केसी र शिक्षक सुवासचन्द्र राईको उपस्थिति रहेको थियो ।

सहमतिपत्रमा वडा नं १ का वडाध्यक्ष राईले भने हस्ताक्षर गर्नुभएको छैन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लागू गरेको नगर शिक्षा नियमावली, २०७६ को नियम २७ (ङ)मा वडाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था छ । उक्त व्यवस्था शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ सँग बाझिएकाले संशोधन वा खारेजीको माग गर्दै जिल्लास्थित शिक्षकहरूले पटक–पटक विरोध गर्दै आएका थिए ।

आन्दोलनकै कार्यक्रमअन्तर्गत जिल्लास्थित सबै शिक्षक सङ्घ/सङ्गठनले तत्कालीन नगरप्रमुख रिजाल र उपप्रमुख राईको पालामा पारित गरिएको नियमावली संशोधन गर्न माग गर्दै गत २०७९ पुस १ गतेदेखि आन्दोलन गर्दै आएको थियो । यसअघि नगरपालिका र शिक्षकबीच भएको छलफल तथा वार्ताका क्रममा गत असार १० गते सम्पन्न नगरसभाबाट उक्त बुँदा संशोधन तथा खारेज गर्ने बताइए पनि कार्यान्वयन नभएको भन्दै शनिबार नगरप्रमुख भट्टराईलाई ज्ञापनपत्र बुझाइएको थियो ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख भट्टराईले शिक्षकसँग भएको सहमति दुवै पक्षले पूर्णरूपमा पालन गरिने बताए । ज्ञापनपत्रमा नेपाल शिक्षक सङ्घका सङ्घीय सदस्य शिवहरि ढकाल, नेपाल शिक्षक महासङ्घ खोटाङका अध्यक्ष मीनबहादुर दाहाल, नेपाल शिक्षक सङ्घका उपाध्यक्ष मुना चौलागाईँ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष टङ्क कटुवाल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका उपाध्यक्ष नूरकाजी सैँजू र नेपाल शिक्षक महासङ्घ नगर अध्यक्ष यादवप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?