Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

हात्ती आक्रमणबाट घाइते किशोरीको उपचारमा आर्थिक कठिनाइ


२३ असार, झापा । हात्तीको हिंस्रक आक्रमणमा गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बुको उपचारमा आर्थिक अभाव भएको छ ।

छिमेकी आफन्तको घरमा चार दिनअघि रातको ३ बजेतिर उनि हात्तीको आक्रमणमा घाइते भएकी थिइन् । हाल उनको विर्तामोडस्थित बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको उपचारमा रु छ लाखदेखि आठ लाखसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।

हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार घाइते इक्साको कम्मरमा हात्तीको दाह्राले घोचेकाले गहिरो प्वाल छ भने देब्रे कान चुँडिएको छ । स्वास्थ्य परीक्षण प्रतिवेदनका अनुसार उनको फोक्सोमा पानी जम्न थालिसकेको छ भने छातीको एउटा करङ भाँचिएको, हातको पाता खुस्किएको र हड्डी चोइटिएको गिरीले जानकारी दिए ।

“चिकित्सकले तत्काल तीन शल्यक्रिया गर्नुपर्ने सुझाव दिनुभएको थियो”, गिरीले भने, “दुई शल्यक्रिया भइसकेको छ, पेटबाट अत्यधिक रक्तश्राव भइरहेका कारण अर्को शल्यक्रिया आइतबार मात्र गरिने भएको छ ।”

स्थानीय खगेन्द्र लिङ्देनका अनुसार खुदुनाबारीको जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत इक्साका बुवा पहलमान लिम्बुको यसअघि नै निधन भइसकेको छ भने आमाले दोस्रो विवाह गरेर गएको हुँदा हाल उनि ९४ वर्षीया हजुरआमाको संरक्षणमा बस्दै आएकी छन् ।

“घरको आर्थिक अवस्था दयनीय छ”, लिङ्देनले भने, “घाइतेको अवस्था गम्भीर रहेका कारण उपचारमा आर्थिक अभाव तगारो बन्ला कि भन्ने देखिएको छ, त्यसैकारण स्थानीय युवा भाइहरुले आर्थिक सहयोग अभियान चलाइ रहनुभएको छ ।”

अस्पतालमा औषधिसहित हालसम्ममा रु चार लाख खर्च भइसकेको बताइएको छ । नगरपालिकाले घाइतेको उपचारमा रु ४० हजार सहयोग प्रदान गर्ने निर्णय गरेको वडा नं ३ का वडाध्यक्ष सीताराम भट्टराईले जानकारी दिए ।

नगरपालिकाको उत्तरी जङ्गल आसपासको ग्रामीण क्षेत्र मानव–हात्ती द्वन्द्वबाट अत्यधिक प्रभावित मानिन्छ । जुकेखाडी, दहिझोडालगायतका सामुदायिक वन क्षेत्र नजिक रहेका कारण गाउँमा बर्सेनि हात्तीको आक्रमणमा जनधनको क्षति हुने गरेको छ ।

घाइते इक्साका ठूलोबुवा धनबहादुर लिम्बुका अनुसार घटना भएको राति छिमेकी भाञ्जेदाइको घरमा भाउजु र सानो नानी मात्र रहेका कारण साथी बस्नका लागि इक्सा गएका थिए । राति सुतिरहेकै अवस्थामा हात्तीले घर भत्काएर इक्सालाई झम्टेको थियो । हात्तीले सुँढ प्रयोग गरेर इक्साको कान लुछ्नुका साथै दाह्रा धसेर कम्मरमा प्वाल पारेको थियो । उक्त अवस्थामा इक्साकी भाउजु र सानी बच्चीले भागेर ज्यान जोगाएका थिए ।

युथ अफ खुदुनाबारी नामक सामाजिक संस्थाले सामाजिक सञ्जालमार्फत इक्साको उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष मनोज सिटौलाले बताए ।

“हात्तीको आक्रमण र चोटको अवस्था हेर्दा इक्साको ज्यान धन्न बचेछ भन्नुपर्छ”, सिटौलाले भने, “आमाबुवा नभएकी इक्साको उपचारमा आर्थिक अभाव भएपछि हाम्रो संस्थाले सहयोगका लागि अपिल गरेको हो ।”


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?