Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

खानीगाउँमा घरैपिच्छे बाख्रापालन


२२ असार ,गलेश्वर । दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाले । उनले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गरे ।

बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाएका छन् । सुरुआतमा १७ स्थानीय र चार अस्‍ट्रेलियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गरेको उनले अहिले एक सय २० बाख्रा पालेको छन् । बुढाथोकीले मात्रै होइन २६ परिवारको बसोबास रहेको खानीगाउँका सबै व्यावसायिकरुपमा बाख्रापालनमा होमिएका छन् । गाउँको नाम नै खानीगाउँबाट ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ ।

हरेकका घरमा बाख्राको व्यवस्थित खोर बनाइएको छ । तीन वर्षयता बुढाथोकीले बाख्रा र बोका बिक्री गरेर वार्षिक रु १० लाख आम्दानी गरेको बताए । “विदेशबाट फर्किएपछि रु ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म खोले”, उनले भने । बाख्रापालन मात्रै होइन बुढाथोकीले अहिले व्यावसायिक तरकारी खेतीसमेत गर्दैआएका छन् ।

उनले सुन्तलाका तीन सय बिरुवासमेत लगाएका छन् । “वार्षिक रु १५ लाख आम्दानी गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो । विदेशमा सिकेको सीपको सदुपयोग गर्दै बाख्रापालन व्यवसाय र कृषि उद्यम थालेको ४८ वर्षीय बुढाथोकीले बताए । “मेरै बाटो पछ्याएर गाउँका अरुले बाख्रापालन थालेका हुन्, तरकारी खेती र बाख्रापालनले गाउँको परिचय नै फेरिएको छ”, उनले भने ।

सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा परिवर्तन आएको उनको अनुभव छ । बुढाथोकीको सिको गरी गुप्तेश्वर कृषक समूह नै गठन गरेर समुदाय नै बाख्रापालनमा लागेको छ । “चरनको समस्या छैन”, बाख्रापालक कृषक राजन राम्जालीले भने । विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदानसहितका कार्यक्रममा समेत सिङ्गो गाउँमा वितरण गर्ने, समूह बनाएर सीप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन गरिँदै आएको छ । विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जङ्गलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ । “मिलेर बाख्रापालन गरेका छौ”, राम्जालीले भने ।

बाख्रापालन, कृषिका साथै सुन्तला खेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँच वर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफूल खेतीबाट लाखौँ भित्रिने स्थानीय बताउँछन् । खानीगाउँका कृषकले खेर गएको जमिनमा सुन्तला खेतीसहित कृषि खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राइखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाएका छन् ।

मङ्गला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ । गुप्तेश्वर कृषक समूहमा हाल ३४ कृषक आबद्ध छन् । उनीहरुले ६ सयभन्दा बढी बोका, बाख्रा र पाठापाठी पालेका छन् । गाउँपालिकाले उनीहरुलाई रु २२ लाख अनुदानसमेत दिएको गाउँपालिकाका प्रवक्ता एवं कुहुँका वडाध्यक्ष एकजित रोकाले बताए । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकालाई कृषि र पशुपालनमा नमूना गाउँ बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएको बताए ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?