Trending
>>   खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी >>   संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा >>   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ? >>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

खानीगाउँमा घरैपिच्छे बाख्रापालन


२२ असार ,गलेश्वर । दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाले । उनले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गरे ।

बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाएका छन् । सुरुआतमा १७ स्थानीय र चार अस्‍ट्रेलियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गरेको उनले अहिले एक सय २० बाख्रा पालेको छन् । बुढाथोकीले मात्रै होइन २६ परिवारको बसोबास रहेको खानीगाउँका सबै व्यावसायिकरुपमा बाख्रापालनमा होमिएका छन् । गाउँको नाम नै खानीगाउँबाट ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ ।

हरेकका घरमा बाख्राको व्यवस्थित खोर बनाइएको छ । तीन वर्षयता बुढाथोकीले बाख्रा र बोका बिक्री गरेर वार्षिक रु १० लाख आम्दानी गरेको बताए । “विदेशबाट फर्किएपछि रु ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म खोले”, उनले भने । बाख्रापालन मात्रै होइन बुढाथोकीले अहिले व्यावसायिक तरकारी खेतीसमेत गर्दैआएका छन् ।

उनले सुन्तलाका तीन सय बिरुवासमेत लगाएका छन् । “वार्षिक रु १५ लाख आम्दानी गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो । विदेशमा सिकेको सीपको सदुपयोग गर्दै बाख्रापालन व्यवसाय र कृषि उद्यम थालेको ४८ वर्षीय बुढाथोकीले बताए । “मेरै बाटो पछ्याएर गाउँका अरुले बाख्रापालन थालेका हुन्, तरकारी खेती र बाख्रापालनले गाउँको परिचय नै फेरिएको छ”, उनले भने ।

सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा परिवर्तन आएको उनको अनुभव छ । बुढाथोकीको सिको गरी गुप्तेश्वर कृषक समूह नै गठन गरेर समुदाय नै बाख्रापालनमा लागेको छ । “चरनको समस्या छैन”, बाख्रापालक कृषक राजन राम्जालीले भने । विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदानसहितका कार्यक्रममा समेत सिङ्गो गाउँमा वितरण गर्ने, समूह बनाएर सीप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन गरिँदै आएको छ । विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जङ्गलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ । “मिलेर बाख्रापालन गरेका छौ”, राम्जालीले भने ।

बाख्रापालन, कृषिका साथै सुन्तला खेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँच वर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफूल खेतीबाट लाखौँ भित्रिने स्थानीय बताउँछन् । खानीगाउँका कृषकले खेर गएको जमिनमा सुन्तला खेतीसहित कृषि खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राइखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाएका छन् ।

मङ्गला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ । गुप्तेश्वर कृषक समूहमा हाल ३४ कृषक आबद्ध छन् । उनीहरुले ६ सयभन्दा बढी बोका, बाख्रा र पाठापाठी पालेका छन् । गाउँपालिकाले उनीहरुलाई रु २२ लाख अनुदानसमेत दिएको गाउँपालिकाका प्रवक्ता एवं कुहुँका वडाध्यक्ष एकजित रोकाले बताए । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकालाई कृषि र पशुपालनमा नमूना गाउँ बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएको बताए ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?