Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

देवचुलीमा सर्पदंशको उपचार सुरु


१९ असार ,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा सर्पदंशको उपचार सुरुआत भएको छ । दुम्कौलीमा रहेको देवचुली नगर अस्पतालमा सोमबारदेखि सर्पदंशको उपचार थालिएको हो । देवचुली नगर अस्पतालमा चौबीसै घन्टा आकस्मिक सेवासहित सर्पदंशको उपचार सेवा सुरु गरिएको अस्पतालका प्रमुख जनस्वास्थ्य अधिकृत चित्रबहादुर सुनारले जानकारी दिए ।

नगर अस्पतालमा उपचार सुरु भएपछि देवचुली नगरवासीलाई सर्पदंश हुनेबित्तिकै उपचारका लागि गैँडाकोट तथा कावासोती जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । नवलपुरका पालिकासहित तराईमा सर्पदंशका बिरामीले समयमा उपचार नपाउँदा मृत्युवरण गर्नेको सङ्ख्या बढ्दो छ । सर्पदंशबाट हुने मृत्यु न्यूनीकरणका लागि देवचुली नगर अस्पतालमा चौबीसै घन्टा आकस्मिक सेवासहित सर्पदंश उपचार सेवा सुरु गरिएको जनस्वास्थ्य अधिकृत सुनारको भनाइ छ ।

यदि कसैलाई सर्पले टोकेको अवस्थामा धामीझाँक्री तथा झरफुकमा जान नहुने जनाउँदै उनले बिरामीलाई सिधै नगर अस्पतालमा ल्याउनुपर्ने बताए’ । सर्पदंश उपचार सेवा शुभारम्भ कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले नगरवासीलाई पूर्णरूपमा स्वास्थ्य सेवा प्रदान गर्न आफूहरूले नगर अस्पतालको सेवा विस्तारमा ध्यान केन्द्रित गरेको बताए । उनले गर्मी महिना सुरु भएसँगै सर्पदंशको जोखिम उच्च हुने भएकाले यसबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरे ।

नगरपालिकाले नगर अस्पताललाई आवश्यक जनशक्तिसहित चौबीसै घन्टा सञ्चालन गर्न आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु एक करोड १० लाख विनियोजन गरेको उनले बताए । यस वर्षमात्रै जिल्लामा तीन सय ९४ जनालाई विषालु तथा अविषालु सर्पले टोकेका स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

कार्यालयका ‘फोकल पर्सन’ डिल्लीराम तिवारीका अनुसार जिल्लामा विषालु सर्पले १५ पुरुष तथा १२ महिला र अविषालु सर्पले एक सय ८५ पुरुष तथा एक सय ७७ महिला गरी तीन सय ७२ जनालाई टोकेको छ । सर्पले टोकेको ठाउँमा घाउ बन्ने, रगत बग्ने, सुन्निने, रातो हुने, दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, कमजोरी महसुस हुने, टोकेको ठाउँ लाटो हुने वा झमझमाउनेजस्ता लक्षण देखिने उनले बताए ।

सर्पले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्नुपर्ने जनाइएको छ । उनका अनुसार सर्पदंशका बिरामीलाई धामी–झाँक्रीतिर नलग्ने, विष सोस्ने कुराको पछि नलाग्ने, सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने, जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा पुर्याउनु पर्दछ ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?