Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

झापामा हात्ती आक्रमणमा ज्यान गुमाउने बर्सेनि बढ्दै


१८ असार ,झापा । झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका छन् ।

झापाकै सामुदायिक वनमा रहेका रैथाने हात्ती र दैनिक बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने भारतीय जङ्गली हात्तीले मानवीय क्षति गरिरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए । उनले गत वर्षको तुलनामा हात्ती आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या बढेको जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्ममा आठ जनाले हात्ती आक्रमणमा ज्यान गुमाएका छन् भने सात जना घाइते भएका छन् । गत वर्ष सोही अवधिमा छ जनाले ज्यान गुमाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आहाराको खोजीमा गाउँ, सहर पस्ने हात्तीको निशानामा मानिस परेको उनको भनाइ छ ।

केही समय अघिसम्म सामुदायिक वन आसपासमा मात्र हात्तीको जोखिम रहेको थियो । आजकल हात्तीले सहरभित्रै पसेर मान्छे मार्न थालेको छ । “हुलमा भन्दा पनि एक्ले हात्तीले मान्छे मारिरहेको छ”, प्रमुख राई भन्छन्, “हात्ती अब अटेर भइसके । सहर पसेर मान्छे मार्न थाल्यो ।”

आज बिहान मात्र धुलाबारी बजारमा पूजाका लागि फूल टिप्न सडकमा हिँड्दै गरेकी ८० वर्षीया पन्नादेवीको हात्ती आक्रमणमा घटनास्थलमै मृत्यु भएको छ । वृद्धालाई मारेर उत्तरतर्फ लागेको हात्तीले बुद्धशान्ति गाउँपालिका–५ मा ३८ वर्षीया कमला धिमाललाई आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चिया बगानमा काम गर्न जाने क्रममा बाटोमै धिमाल हात्ती आक्रमणमा परेर घाइते भएका थिए । उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । झापाका स्थानीय तहले हालै मात्र बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लामा बर्सेनी हात्ती आक्रमणमा मानवीय क्षतिसँगै लाखौँको अन्नबालीसमेत नष्ट हुँदै आएको छ ।

तर बजेटमा पालिकाले हात्ती नियन्त्रणका लागि नै भनेर रकम उल्लेख गरिएको पाइँदैन । मेचीनगर नगरपालिकाको बाहुनडाँगी हात्ती नेपाल प्रवेश गर्ने मुख्य गौँडो मानिन्छ । सो क्षेत्रमा लगाएको विद्युतीय घेराबार समेत तोडेर दैनिक हात्ती गाउँ पस्ने गरिरहेका छन् । पालिकाले नीति तथा कार्यक्रममा जङ्गली हात्तीको प्रकोपको क्षतिलाई नियन्त्रण गर्न निर्माण गरिएको विद्युतीय घेराबारको मर्मत सम्भार तथा स्तोरन्नति गरिने र सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्ती रोक्न सङ्घ र प्रदेश सरकारसँग पहल गर्ने नीति तथा बजेट कार्यक्रममा उल्लेख गरेको छ ।

पालिकाले हात्तीलगायतका जङ्गली जनावरलाई खेदाउन साइरन खरिदका लागि रु तीन लाख र हात्ती प्रकोप तथा विपद् व्यवस्थापनमा रु तीन लाख बजेटमा विनियोजन गरेको छ । नगरको वडा नम्बर ४ ले भने हात्तीमैत्री किसान समूहलाई बेमौसमी तरकारी खेतीका लागि रु ५० हजार र हात्तीले मारेको पीडित परिवारका सदस्यलाई रु १२ हजारका दरले रकम दिइने बजेटमा उल्लेख गरिएको छ ।

वडा नम्बर ३ ले हात्ती धपाउनका लागि फगी लाइट खरिदका लागि रु ५० हजार बजेट छुट्याएको छ । पन्ध्र वडा रहेको पालिकाका अन्य वडाले भने एक रूपैयाँ बजेटसमेत हात्ती नियन्त्रणका लागि छुट्याएको बजेट पुस्तिकमा पाइँदैन ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?