Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

झापामा हात्ती आक्रमणमा ज्यान गुमाउने बर्सेनि बढ्दै


१८ असार ,झापा । झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका छन् ।

झापाकै सामुदायिक वनमा रहेका रैथाने हात्ती र दैनिक बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने भारतीय जङ्गली हात्तीले मानवीय क्षति गरिरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए । उनले गत वर्षको तुलनामा हात्ती आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या बढेको जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्ममा आठ जनाले हात्ती आक्रमणमा ज्यान गुमाएका छन् भने सात जना घाइते भएका छन् । गत वर्ष सोही अवधिमा छ जनाले ज्यान गुमाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आहाराको खोजीमा गाउँ, सहर पस्ने हात्तीको निशानामा मानिस परेको उनको भनाइ छ ।

केही समय अघिसम्म सामुदायिक वन आसपासमा मात्र हात्तीको जोखिम रहेको थियो । आजकल हात्तीले सहरभित्रै पसेर मान्छे मार्न थालेको छ । “हुलमा भन्दा पनि एक्ले हात्तीले मान्छे मारिरहेको छ”, प्रमुख राई भन्छन्, “हात्ती अब अटेर भइसके । सहर पसेर मान्छे मार्न थाल्यो ।”

आज बिहान मात्र धुलाबारी बजारमा पूजाका लागि फूल टिप्न सडकमा हिँड्दै गरेकी ८० वर्षीया पन्नादेवीको हात्ती आक्रमणमा घटनास्थलमै मृत्यु भएको छ । वृद्धालाई मारेर उत्तरतर्फ लागेको हात्तीले बुद्धशान्ति गाउँपालिका–५ मा ३८ वर्षीया कमला धिमाललाई आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चिया बगानमा काम गर्न जाने क्रममा बाटोमै धिमाल हात्ती आक्रमणमा परेर घाइते भएका थिए । उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । झापाका स्थानीय तहले हालै मात्र बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लामा बर्सेनी हात्ती आक्रमणमा मानवीय क्षतिसँगै लाखौँको अन्नबालीसमेत नष्ट हुँदै आएको छ ।

तर बजेटमा पालिकाले हात्ती नियन्त्रणका लागि नै भनेर रकम उल्लेख गरिएको पाइँदैन । मेचीनगर नगरपालिकाको बाहुनडाँगी हात्ती नेपाल प्रवेश गर्ने मुख्य गौँडो मानिन्छ । सो क्षेत्रमा लगाएको विद्युतीय घेराबार समेत तोडेर दैनिक हात्ती गाउँ पस्ने गरिरहेका छन् । पालिकाले नीति तथा कार्यक्रममा जङ्गली हात्तीको प्रकोपको क्षतिलाई नियन्त्रण गर्न निर्माण गरिएको विद्युतीय घेराबारको मर्मत सम्भार तथा स्तोरन्नति गरिने र सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्ती रोक्न सङ्घ र प्रदेश सरकारसँग पहल गर्ने नीति तथा बजेट कार्यक्रममा उल्लेख गरेको छ ।

पालिकाले हात्तीलगायतका जङ्गली जनावरलाई खेदाउन साइरन खरिदका लागि रु तीन लाख र हात्ती प्रकोप तथा विपद् व्यवस्थापनमा रु तीन लाख बजेटमा विनियोजन गरेको छ । नगरको वडा नम्बर ४ ले भने हात्तीमैत्री किसान समूहलाई बेमौसमी तरकारी खेतीका लागि रु ५० हजार र हात्तीले मारेको पीडित परिवारका सदस्यलाई रु १२ हजारका दरले रकम दिइने बजेटमा उल्लेख गरिएको छ ।

वडा नम्बर ३ ले हात्ती धपाउनका लागि फगी लाइट खरिदका लागि रु ५० हजार बजेट छुट्याएको छ । पन्ध्र वडा रहेको पालिकाका अन्य वडाले भने एक रूपैयाँ बजेटसमेत हात्ती नियन्त्रणका लागि छुट्याएको बजेट पुस्तिकमा पाइँदैन ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?